म हरेकपटक
प्रजातन्त्रको पानीले अनुहार धुन्छु
अनि घमजस्तै उज्यालो बनेर
मनका अँध्याराहरू
आफ्नै प्रकाशले मेटाउँदै
साँघुरा गल्लीहरू हुँदै
हजारौँ वर्षदेखि घामको प्रकाशले समेत
भुलेका वस्तीहरू पुग्नु छ
अनि जन्माउनु छ,
प्रतान्त्रको घाम
प्रजातन्त्रको पानीले हात धुन्छु््
अनि आफ््नै हातमा क्षितिजको जस्तो आशा देख्छु
युगौँदेखि साँघुरा पारिएका बाटाहरू चौडा बनाउँदै
मानिसको गीत गाउँदै उत्सव मनाउन
बाटामा निस्किएको
लाबा–लस्करलाई हेर्दै
त्यहीँ जन्माउनु छ
प्रजातन्त्रको जून
म प्रजातन्त्रमै निदाउँछु
प्रजातन्त्रकै सपना देख्छु
जुन सपनामा विपनाका उद्धेश्य मात्रै हुन्छन्
प्रजातन्त्रमै हिँड्छु
जुन हिँडाइमा अनन्त सम्भावनाहरू
पाइलैपिच्छे टेकिन्छन्
प्रजातन्त्रको फूल टिपेर
आमा–बाका चरणमा अर्पण गर्छु
अनि जीवनजस्तै प्रजातन्त्रका लागि
प्रजातन्त्रजस्तै जीवनका लागि आशीर्वाद थाप्छु
ससाना नानीहरूलाई
प्रजातन्त्रको टीका लगाइदिएर
आकाश र प्रजातन्त्रको सम्बन्ध पढाउँछु
स्वतन्त्रताको पाठ सिकाउँदासिकाउँदै
नानीहरू आफैँ प्रजातन्त्र बनेर
आफैँ आकाश बनेर
कावा खाँदे गरेको आनन्द हेरिबस्छु
बगैँचामा
सडककिनारामा
या वनजङ्गलमा
अथवा भीरमा फूलेका
फूलहरूको माला उनेर
सहिद–ईश्वरका गलामा पहिर्याइदिन्छु
अनि सहिदको विश्वास लिएर
आफैँ आकाशजस्तो बन्छु
प्रजातन्त्रको मन–मुटु
आँखा
नाक
मुख
हात खुट्टाबाट बनेको म
प्रजातन्त्रकै श्वास फेरेर
बाँचिरहेको छु
हावा पनि
प्रजातन्त्र बनिसकेको पत्तो नपाउनेहरू
कसरी बाँच्छन हँ !