• २०८१ श्रावाण ११ शुक्रबार

प्रतिज्ञा

इन्दिरा दाहाल

इन्दिरा दाहाल

आगो हो भन्दछौ साँच्चै आगो हुँ म डढाउँछु
बाढी झैँ बग्दछौ भन्छौ बाढी हुँ म बगाउँछु
ठान्छौ झुस भने साँच्चै झुसै हुँ म बिझाउँछु
म आफ्नो कर्मको बाटो आफैँ खन्छु, बनाउँछु ।

रोकिन्नन् धाक धम्कीले पाइला बढ्दछन् अझै
के मथ्र्यो सिर्जना शक्ति अग्लिन्छन् भाव यी अझै
काट्यौ प्वाँख भने उस्तै अर्को प्वाँख उमार्दछु
म आफ्नो कर्मको बाटो आफैँ खन्छु, बनाउँछु ।

थामिन्नन् बाँध लाएर निस्किन्छन् छहरा अझै
छेकिन्नन् बार लाएर तन्किन्छन् लहरा अझै
दबाएँ ठान्दछौ होला अझै चाल बढाउँछु
म आफ्नो कर्मको बाटो आफैँ खन्छु, बनाउँछु ।

अभिमान कुनै वेला तोडिएला कसै गरी
अहङ्कार कुनै वेला तोडिएला उसै गरी
चाउरिन्छौ तिमी आफैँ, त्यति वेला जनाउँछु
म आफ्नो कर्मको बाटो आफैँ खन्छु, बनाउँछु ।


(इलामनिवासी दाहाल विगत एक दशकभन्दा अघिदेखि साहित्यसिर्जनामा सक्रिय स्रष्टा हुन् ।)
[email protected]