• २०८१ फागुन ३ शनिवार

समिर नेपालका दुई कृति सार्वजनिक

काठमाडौँ ।

स्रष्टा तथा सामाजिक अभियन्ता समीर नेपालका उपन्यास र यात्राकथा गरी दुई कृति सार्वजनिक गरिएका छन । ओरिएन्टल प्रकाशनद्वारा प्रकाशित उपन्यास ‘वर्षका बिहानीहरू’ र यात्राकथा ‘नबिर्सने यात्रा’ साहित्यकारद्वय मेघराज शर्मा ‘मञ्जुल’ र एसपी कोइरालाले लोकार्पण गर्नुभएको थियो ।

पुस्तककी समीक्षक डा गीता त्रिपाठीले दुवै कृतिले लेखकको साहित्यिक व्यक्तित्व खुलाएको टिप्पणी गर्दै पछिल्लो समयमा नियात्रा विधा लोकप्रिय भएको सन्दर्भमा ‘नबिर्सने यात्रा’ को महत्व झन् बढेको बताउनु भयो ।

लामो समयदेखि सामाजिक तथा मानवअधिकारका क्षेत्र हुँदै हाल राजनीतिमा सक्रिय स्रष्टा नेपालले साहित्यिक वातावरण घरमै मिलेकाले आफूलाई लेख्न समस्या नभएको उहाँको भनाई छ । भोजपुरको पोखरेमा जन्मिएका समीरका दुई दाजु मञ्जुल र प्रदीप नेपाल साहित्यिक क्षेत्रमा स्थापित हुनुहुन्छ । दाजुहरू जस्तै समिर पनि लेखनमा रुची राख्नुहुन्छ ।