• २०८२ कार्तिक १८, मंगलवार

आख्यानकार उमा सुवेदीसँग स्रष्टा–संवाद

रञ्जना निरौला

रञ्जना निरौला

उमा सुवेदी नेपाली साहित्यमा परिचित सर्जकको नाम हो । उनी कवि, गजलकार गीतकार र आख्यानकार हुन् । २०६६ मा उनको पहिलो कृति गजलसङ्ग्रह ‘तप्किएर अन्जुलीमा’ प्रकाशित भयो । २०६८ मा ‘तिर्सनाका छालहरू’ कवितासङ्ग्रह प्रकाशित भएको थियो । यद्यपि, उनको पहिलो उपन्यास ‘तोदा’ २०७० ले उनलाई स्थापित गरायो । उनले आफ्नो दोस्रो उपन्यास ‘इति २०७३ मा र ‘सयौँ पुतली’ कथासङ्ग्रह २०७५ मा  प्रकाशित गरिन् । सुवेदीको हाल तेस्रो उपन्यास ‘परिधि’ प्रकाशित भएको छ । नेपाली आख्यान लेखनमा सक्रिय आख्यानकार उमा सुवेदीसँग रञ्जना निरौलाले नयाँ उपन्यास ‘परिधि’को सेरोफेरोमा गरेको भलाकुसारी ।

१. तपाईंको नयाँ उपन्यास ‘परिधि’ को मूल विषय के हो ?
मैले स्वैरकल्पना शिल्प प्रयोग गरेर लेखेको भए पनि यो उपन्यास मुलतः समाजभित्रकै पात्र र परिवेशको कथा हो । उपन्यासमा घटनाक्रमहरु अकल्पनीय किसिमले या अपत्यारिलो किसिमले घटित भएजस्तो देखिए पनि वास्तवमा यो हाम्रा वरिपरि रहेका पात्रहरुकै कथाव्यथा हो । तिनीहरुकै भोगाइ र अनुभूति हो । परिधिमा मैले मानिसको मनभित्रको जटिलतालाई उजागर गर्ने प्रयास गरेकी छु । यहाँ मैले उपन्यासको विषयवस्तु पूरै भनिदिएँ भने उपन्यास अझै नपढिसक्नु भएका वा पढ्न लाग्नु भएका पाठकहरुलाई नमज्जा लाग्न सक्छ । त्यसैले यतिमात्र भन्छु यो उपन्यास मानिसको मन, मस्तिष्क र चेतनाको कथा भन्न लेखिएको हो ।

२. यस उपन्यासको शीर्षक “परिधि” राख्नुको प्रतीकात्मक अर्थ छ कि ?
यस उपन्यासका पात्रहरु आफ्नै संसार बनाएर, आफ्नै काल्पनिक भुगोल तयार पारेर, आफ्नै ब्रह्माण्ड बनाएर र त्यसकै परिधिमा आफूलाई चलायमान बनाइरहेका छन् । त्यसैले पनि मलाई परिधि नै यस उपन्यासका लागि उपयुक्त शीर्षक लागेको हो ।

३. “तोदा” र “इति” पछि तपाईंको लेखन शैली वा दृष्टिकोणमा कस्तो परिवर्तन आएको छ ?
लेखकले नयाँ विषयवस्तुमा कलम चलाउन खोज्नु कुनै नयाँ कुरा भएन । म पनि नयाँनयाँ विषयकै खोजीमा हुन्छु । तर तोदा र इति लेखिसकेपछि मलाई अब विषयवस्तु भएरमात्र पुग्दैन, शिल्प र शैली पनि नयाँ हुनुपर्छ भन्ने लाग्न थाल्यो । तपाईंले ध्यान दिएर पढ्नु भयो भने आफैं बुझ्नु हुनेछ, परिधिलाई यो शिल्प र शैलीमा बाहेक अरु किसिमले लेख्नै सकिँदैन ।

४. परिधि लेख्ने प्रेरणा तपाईंलाई कहाँबाट प्राप्त भयो ?
केही वर्षअघि म एउटा जागिरमा आबद्ध भएर करिब दुई वर्ष जति सुदूरपश्चिममा पुगेकी थिएँ । त्यहीबेला विश्व कोरोना महामारीबाट आक्रान्त भयो । सम्पूर्ण विश्व नै लगभग लकडाउनको स्थितिमा थियो । त्यतिबेला विश्वका हरेक मानिसको साझा भोगाइ भन्नु नै एक्लोपन थियो । त्यो एक्लोपनले मलाई पनि गाँजेको थियो । तर त्यो एक्लोपन मेरालागि एउटा अवसर पनि बन्यो । मैले त्यतिबेला आत्ममन्थन गर्ने मौका पाएँ । आफूभित्र आउँदै र हराउँदै गरेका अनेक विषयवस्तुलाई दोहर्याएर सोच्ने, विश्लेषण गर्ने अवसर पाएँ । लकडाउन र सुदूरपश्चिमको बसाइमै मैले एकजना पात्रलाई देखेँ । उनका बारेमा थाहा पाएँ । समाजका लागि उनी अस्वाभाविक कुरा र व्यवहार गर्ने एउटा पात्र थिइन् । उनको बोली, सोच र व्यवहारले मलाई आन्दोलित गर्न थाल्यो । मलाई लाग्न थाल्यो, उनी यही संसारमा भएर पनि यहाँ छैनन् । उनले आफ्नो मस्तिष्कमा आफ्नालागि एउटा फरक संसार बनाएकी छिन् र त्यही संसारलाई वास्तविक ठानेकी छिन् । उनका बारेमा केही अनौठा कुराहरु थाहा पाएदेखि नै मलाई उनको विषयमा केही लेखुँजस्तो भैरह्यो । त्यही क्रममा यो उपन्यास जन्मिएको हो । यस अर्थमा उनी नै यो उपन्यासका लागि मेरो प्रेरणाश्रोत भइन् भन्दा अत्युक्ति हुने छैन ।

५.यो उपन्यास लेख्दा तपाईंले कस्ता खालका सामाजिक वा मानवीय प्रश्नहरू उठाउन खोज्नुभएको छ?
मैले उठाउन खोजेका कतिपय प्रश्नहरु त युगौंदेखि समाजले सोधिरहेकै प्रश्न हो । मैले त त्यसमा आफ्नो आवाज पनि मिसाएकी मात्र हुँ । यसमा पनि मैले महिलामाथि हुने हिंसा र विभेदका कुराहरु उठाएकी छु । महिलाभित्र कसरी पुरुष सोच हावी हुन्छ र त्यसले कति घातक परिणाम निम्त्याउन सक्छ भन्ने नै देखाउन खोजेकी हुँ ।

६. यस उपन्यासका पात्रहरू वास्तविक जीवनका मानिसहरूबाट प्रेरित छन् कि कल्पनाबाट सिर्जित ?
मैले माथि नै पनि लगभग यसबारेमा भनिसकेकी छु । तर अर्को कुरा के पनि हो भने यो सिंगै उपन्यास मैले सुदूरपश्चिममा देखेकी त्यही एकजना पात्रको सोचाइ र मनोदशामा केन्द्रित भएरमात्र लेखेकी होइन । यसमा थुप्रै पात्रहरु छन् । ती सबैका आ–आफ्नै खालका चेतना, चिन्तन र चिन्ता छन् । त्यसैले यो समाजमा रहेका धेरै खालका पात्रहरूबाट प्रेरित भएर लेखिएको उपन्यास हो ।

७. उपन्यास लेख्दा सबैभन्दा चुनौतीपूर्ण वा भावनात्मक क्षण कुन थियो ?
मैले सधैँ देखिरहेका पात्र र परिवेशभन्दा फरक भएकोले कतिपय स्थितिमा म आफू नै अर्कै मनोगत लोकमा पुगेको आभास हुन्थ्यो । कतिपटक त म आफ्नै सोचाइ र कल्पनासित आत्तिएकी पनि थिएँ । आफूले यो विषयमा लेखिरहेकी छु, यस्तो पात्रबारे लेखिरहेकी छु भनेर साथीभाइसित शेयर गरेको भए सायद मन केही सहज हुन्थ्यो । तर त्यसो गरिनँ । मलाई आफूले लेखिरहेको विषयमा धेरै कुराकानी गरिरहन मन लाग्दैन पनि । त्यसैले यो उपन्यास लेख्ने क्रममा म एकखालले एक्लै भएँ । जानाजान एक्लोपनलाई मनभरि स्थापित गरिरहेँ र आफैं सकसमा परिरहेँ । त्यसैले ‘परिधि’ लेखनका सारा समय नै मेरालागि चुनौतीपूर्णमात्र हैन, कतिपय अर्थमा यातनामय समय पनि थियो ।

८. कथानकमा महिला अनुभव, आत्मपहिचान र संघर्षको स्वर कस्तो रूपमा उपस्थित छ ?
आफूले नै आफ्नो उपन्यासमा यस्तो यस्तो छ भनेर भनिरहनु पनि उति उचित नहोला । म आफैँ पनि महिला भएको नाताले कतिपय सन्दर्भमा आफ्नो सोचाइ र भोगाइ पनि पात्रहरुको कथामा उनिएर आइहाल्ने रहेछन् । समग्रमा भन्दा यो महिला केन्द्रित उपन्यास नै हो र महिलाका समस्या र महिलालाई हेर्ने समाजको समस्यापूर्ण नजरिया नै उपन्यासमा जताततै उपस्थित छ जस्तो लाग्छ ।

९. पाठकले यो उपन्यासबाट के अनुभूति या सन्देश पाउन सक्छन् ?
साहित्यमा सन्देश, अर्ति उपदेश हुनुपर्छ भन्ने मलाई लाग्दैन । हाम्रो साहित्य त्यो स्थितिबाट धेरै माथि उठिसकेको छ । ‘परिधि’ले कसैलाई कुनै अर्ति उपदेश दिँदैन । तर यसले मान्छेको मन र मस्तिष्कभित्र हुर्किरहने अर्को दुनियाँलाई पनि लेखकले आफ्नो लेखनको विषयवस्तु बनाउनु पर्छ भन्ने आग्रह भने राखेको छ ।

१०. तपाईंका दृष्टिमा ‘तोदा’, ‘इति’ र ‘परिधि’बीचको वैचारिक निरन्तरता वा भिन्नता के छ ?
विचार त लेखकको सिर्जनाको आधार नै भैहाल्यो । विचारहीन लेखनले न समाजलाई केही उपलब्धी होला, न लेखकलाई नै । त्यसैले ‘तोदा’ इति या ‘परिधि’ मेरा यी तीनवटै उपन्यासको मूलमा व्यक्तिको स्वतन्त्रता, महत्ता र उसको अस्तित्वको स्वीकार्यता नै छ ।

११. समाजमा महिला लेखकप्रतिको दृष्टिकोणबारे तपाईंको अनुभव कस्तो छ ?
मेरो अनुभव एकदमै राम्रो छ भनेर त कुन चाहिँ महिला लेखकले भन्न सक्ला र ? महिलामाथि हुने विभिेदका सबै रुपरंग हामी महिला लेखकले बेहोरिनै रहेका छौँ । सबैभन्दा दिक्क लाग्दो कुरा के लाग्छ भने कतिपय पुरुष लेखकहरूले हामीबाट आफ्नो सिर्जनाको चर्चा गरियोस् भन्ने चाहना राख्नु हुन्छ । तर महिला लेखकको रचनाको चर्चा गर्नु पर्ने बेलामा उहाँहरु प्रायः मौन बसिदिनु हुन्छ । त्यसैले महिलाका कृतिमाथि लेख्ने, बोल्ने पुरुष मलाई साँच्चिकै सम्माननीय लाग्छ । तर मेरो सम्मानको लिष्ट मैले धेरै लामो बनाउन पाएकी छैन ।

१२.आजका पाठकहरूका लागि साहित्यको भूमिका कस्तो हुनुपर्छ भन्ने तपाईंलाई लाग्छ ?
यो मेरालागि साह्रै जटिल प्रश्न हो । साहित्य अपरिहार्य कुरा हो भनुँ भने अधिकांश व्यक्तिहरुले एउटा मुक्तक पनि नपढी जीवन बिताएकै छन् । त्यसैले साहित्य जीवनका लागि अपरिहार्य कुरा हो जस्तो लाग्दैन । तर चेतनाको जागरणका लागि भने पक्कै आवश्यक कुरा हो । त्यसैले साहित्यले अरु केही गर्न नसकेपनि पाठक र समाजको चेतनामा हस्तक्षेप गरिरहोस् भन्ने चाहिँ लाग्छ ।

१३. तपाईंका अनुसार सफल उपन्यासकार बन्नका लागि लेखकमा हुनै पर्ने कुरा के के रहेछन ?
समाजमा एउटा असल मान्छे ठहरिन जेजस्ता गुणहरु व्यक्तिमा आवश्यक पर्छ, लेखकमा पनि ती गुणहरु हुनुपर्छ होला । आफ्नो सोचाइ, चेतना र बुझाइलाई बलियो बनाउन व्यक्तिले जेजति र जेजस्तो मेहनत गर्नुपर्छ, लेखकले पनि गर्ने या गर्नु पर्ने त्यही नै हो ।

१४. पाठकबाट “तोदा” र “इति” का बारेमा पाउनु भएको प्रतिक्रिया कस्तो थियो र ‘परिधि’ बारेमा पाठकको अवधारणा कस्तो छ ?
मैले आफ्ना अघिल्ला कृतिबाट सकारात्मकमात्र प्रतिक्रिया पाएकी छैन । आलोचना पनि पाएकी छु । सकारात्मक प्रतिक्रियामात्र पाएकी भए फुर्केर बसिरहन्थें, आत्ममुग्ध भैरहन्थे र समाप्त हुने थिएँ । तर त्यससँगै आलोचनाहरु पनि पाइरहेकोले अझ असल,अझै सशक्त केही लेखुँ भनेर दिमागले सोचिरहन्छ । ‘परिधि’ भर्खरजस्तो बजारमा आएको हो । यसले व्यापक पाठक वृत्तमा प्रवेश पाउन बाँकी नै छ । तर हालसम्म जेजति प्रतिक्रिया पाएकी छु , त्यसबाट उत्साहित छु ।

१५. ‘परिधि’ लेखेपछि तपाईंमा लेखकका रूपमा कस्तो परिवर्तन महसुस भयो ?
त्यस्तो विशिष्ट केही लेखें भन्ने दम्भ छैन । मैले आफूले लेख्नु पर्छ भन्ने लागेको कुरा लेखेकी हुँ । त्यसैले अब मैले परिधिमै अल्झिएर बस्नु हुँदैन भन्ने कुरामा सचेत छु । कतिपय परिवर्तन त मभित्र थाहै नपाई पनि आइरहेका हुन्छन् । अब आफैंले त यस्तोयस्तो परिवर्तन आयो भनेर भन्न सक्ने गरी आफ्नो मनलाई खोतल्न भने सकेकी छैन अझै ।

१६. उपन्यास किन लेखिनु पर्छ ?
साहित्यका सबै विधा लेखिनु पर्छ । कतिपयलाई आफूलाई कविता, निबन्धमा अभिव्यक्त गर्न सजिलो लाग्छ । मलाई भने कथा या उपन्यासमा अचेल बढी सहजता अनुभव हुन्छ । यदि तपाईँसित ठूलो क्यानभासमा अटाउने विषयवस्तु छ, पात्रहरु छन्, घटनाक्रमहरु छन् भने त्यसलाई आख्यानको रुपमा लेख्दा बढी प्रभावशाली होला । तर जब सामथ्र्यको कुरा आउँछ, साहित्यका सबै विधा शक्तिशाली छन् ।