• २०८२ कार्तिक १९, बुधबार

सुबिन भट्टराईको ‘चमेलीको फूल बैजनी रुमाल’ कथासंग्रह लोकार्पित

काठमाडौँ ।

अहिलेका लोकप्रिय सर्जक सुबिन भट्टराईको नयाँ कृति ‘चमेलीको फूल बैजनी रुमाल’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । प्रज्ञा प्रतिष्ठानको डबलीमा फाइनप्रिन्टद्वारा आयोजित कार्यक्रममा कृतिकार भट्टराई र उनका प्रशंसक रश्मिला थापाले कृति लोकार्पण गरे ।

कृतिकार भट्टराईले आफू लेखनको यात्रामा हिँडेको १५ वर्ष भएको उल्लेख गर्दै आफ्ना कृतिहरू मनपराई दिएकोमा सबैप्रति आभार व्यक्त गरे । उनले भने, “लेखन मेरो अभिन्न अंग भइसकेको छ । यो मेरो सातौँ कृति हो र यसमा कथाको संख्या पनि सात रहेको छ । शीर्षकले बैजनी रङ भने पनि यसमा सबै रङ समेटिएको छ ।”

उनले यो पुस्तक इन्द्रेणी बन्न आइपुगेको बताउँदै आफूले यसै संग्रहबाट सिनेमा बनाउने पनि बताए । कृति फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।