• २०८२ कार्तिक ३०, आईतवार

नयाँ संस्करणको ‘बाह्रखरी कथा प्रतियोगिता’का लागि कथा आह्वान

काठमाडौं ।

‘डिसहोम सातौं बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का निम्ति कथा आह्वान गरिएको छ । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो ।

बाह्रखरी मिडियाले यो वर्षदेखि विगतका वर्षभन्दा पुरस्कार राशि बढाएको जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । सो पुरस्कार राशि विगतका वर्षमा भन्दा बढी हो ।

यसैगरी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । कथा प्रतियोगिताको नतिजा २०८२ पुस दोस्रो सातासम्ममा एक विशेष समारोहबीच सार्वजनिक गरिनेछ । सोही दिन कथासंग्रहको पुस्तक ‘उत्कृष्ट कथा, २०८२ को लोकार्पण पनि गरिनेछ ।

समारोहमा प्रतियोगिताका निर्णायक मण्डलका संयोजक अशेष मल्लले प्रतियोगिता पछिल्लो दशकको नेपाली समाजको ऐनाभएको उल्लेख गर्नुभयो । उहाँले विश्वभर रहेका नेपालीलाई प्रतियोगितामा कथा लेखेर पठाउन आह्वान गर्नुभयो । बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले साहित्य क्षेत्रमा लाग्ने व्यक्तिलाई प्रेरणा र उत्साह प्रदान गरोस् भनेर पुरस्कार राशि बढाइएको बताउनुभयो ।