समाचार
आह्वान चोखो मनको धोको लिएर आएको
निर्मल बुद्धि चेतना छु जो साथमा ल्याएको
नबिर्स युवा राष्ट्रको कसै दुर्गति भएको
बितेर गयौ जे भयोे सबै अन्याय रहेको ।
यो नयाँ पुस्ता गौरवशाली नेपाली सन्तान
होस् इतिहास निर्माण सङ्लो प्रतापी इमान
खाएको सातो नबिर्स आफैं नेताले अगाडि
लुकेर बस दुलामा पस खोजेर लौ झाडी ।
म हुन्छु साथ सदैव युवा हुनेछन् अगाडि
सल्लाह दिनेछु विवेक ज्ञान कर्तव्य नछाडी
चाहन्नँ सत्ता माग्दिन भत्ता बन्दिन शोषक
कर्तव्य कर्म म पूरा गर्छु हमेशा पोषक ।
एकताबद्ध यो युवा पुस्ता देख्ने छ चाहना
नेपाली मन प्रफुल्ल पार्ने होस् स्वस्थ कामना
गोदिन्छ भ्रष्ट तस्कर प्रष्ट निर्माण यज्ञ पो
नवीन चालू हुनेछ लिई सल्लाह विज्ञको ।
महत्व दिने काममा सधैँ बनेर अथक
लेख्नेछन् स्रष्टा छन् युग द्रष्टा विशिष्ट सजग
उद्देश्य पूर्ण गर्नेछन् पक्कै सुदूर भविष्य
बनेका हुन्छन् खुसीले आफैं यज्ञको हविष्य ।
(झ्याउरे छन्द )
अभिनव व्यास
तनहुँ, नेपाल ।