खोइ,
कसका यादका तरेली थिए ?
फुलायौ ओठमा मुस्कानको फूल
थाहै नपाई टिप्यौ तर
आफैँ हिँडिरहेको बाटो छेउको फूल ।
खोइ,
को माथिको रिसको झङ्कार थियो ?
बनायौ मुटुलाई ढुङ्गाको मुटु
थाहै नपाई लात्तले हान्यौ तर
आफैँ हिँडिरहेको बाटोको सानो ढुङ्गो ।
खोइ,
कसको पर्खाइको छटपटी थियो ?
बस्यौ पातहरूले दिएको छहारीमा
थाहै नपाई च्यात्यौ तर
छहारी दिँदादिँदै थाकेर झरेको पात ।
खोइ,
कसको प्रेमको कोसेली थियो ?
सँगाल्यौ हृदयभरिको टपरीमा
थाहै नपाई भाँच्यौ तर
त्यस्तै टपरी गाँस्न सक्ने सिन्काहरू ।
लाग्थ्यो
कति कोमल हुन्छ होला प्रेम
लाग्यो
निकै निर्दयी हुँदो रहेछ प्रेमी
लाग्थ्यो
कति सुन्दर हुन्छ होला अरूमा हराउँदा
लाग्यो
निकै हानि गरिँदो रहेछ बेहोसीमा
जाऊ
हामी प्रेम नगरौँ ।
या,
आऊ
अरूलाई नचुँडी
अरूलाई नहानी
अरूलाई नच्याती
अरूलाई नभाँची
एक अर्कालाई प्रेम गरौँ ।
परि विक्रम