• २०८२ भाद्र २७, शुक्रबार

आमा–छोराका कृति एकसाथ विमोचन

काठमाडौं ।

पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारमा कवि डा. अम्बिका अर्यालको ‘बेचैन अभिलाषा’ कवितासङ्ग्रह र बाल–लेखक अजब अनन्तको ‘My Little Window’ बालसंस्मरण एकैसाथ सार्वजनिक गरिएको छ। साहित्यकार तथा समालोचक प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दुवै कृति विमोचनसँगै आलोचनात्मक तथा शुभकामनामूलक मन्तव्यहरु पनि राखिएको थियो ।

कार्यक्रममा मदर क्यासल स्कुलका प्राचार्य भावना सुवेदी, ट्रुङरम इन्टरनेसनल एकेडेमीका पूर्वप्राचार्य लैला लामा शेर्पा, समीक्षक डा. हेम भण्डारी र सुधा शर्माले दुवै कृति संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।समीक्षक डा. हेम भण्डारीले ‘बेचैन अभिलाषा’ का कवितामार्फत कवि अर्यालले प्रतिरोधी सङ्कथन प्रस्तुत गरेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार अर्यालका कविताले समकालीन नेपाली समाजको अनुहार उजागर गर्ने मात्र नभई नारीसमस्याको जरो खोतली समाधानको मार्ग पनि देखाउन खोजेको छ। उहाँले जीवनदर्शन र गहिरो अनुभूतिले कवितालाई बलियो बनाएको बताउनुभयो ।

त्यस्तै समीक्षक सुधा शर्माले अर्यालको कृतिमा नारी अस्तित्व, संस्कृति, प्रणय, राजनीति, प्रकृति, कोरोना लगायतका विविध विषय समेटिएको धारणा राख्नुभयो । उहाँका अनुसार, यस कवितासङ्ग्रहमा महिला चेतना र चिन्तनको स्वर विशेष रुपमा मुखरित छ। अर्कोतर्फ अजब अनन्तको ‘My Little Window’ बारे बोल्दै प्राचार्य भावना सुवेदीले लेखकले विद्यालय जीवनको प्रारम्भिक स्मृतिलाई पुस्तकमार्फत जीवन्त बनाउन सफल भएको बताउनुभयो । त्यस्तै, पूर्वप्राचार्य लैला लामा शेर्पाले कक्षा चारदेखि नै लेखनमा सक्रिय अजबलाई आगामी यात्राका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले अजब अनन्त जस्तो बालकले कम उमेरमै गहिरो लेखनशक्ति प्रदर्शन गर्नु महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले अजबको लेखन शैली आकर्षक रहेको उल्लेख गर्दै यो कृति अभिभावक र शिक्षकप्रतिको बालबालिकाको दृष्टिकोण बुझ्न उपयोगी हुने विचार प्रस्तुत गर्नुभयो । दश वर्षकै उमेरमा पहिलो कृति प्रकाशित गर्नुभएको लेखक अजब अनन्तले पुस्तक आफ्ना आमाबाबुको प्रेरणा र उहाँहरुका प्रकाशित कृतिका लहरमा थपिएको बताउँदै, यसमा परिवार, विद्यालय, शिक्षक, साथी तथा व्यक्तिगत अनुभव समेटिएको जानकारी दिनुभयो । अंग्रेजी भाषामा प्रकाशित यो कृतिले अजबलाई बालसाहित्यको क्षेत्रमा आशालु लेखकको रुपमा चिनाएको छ।

डा. अम्बिका अर्यालको ‘बेचैन अभिलाषा’ उहाँको समग्रमा पन्ध्रौँ कृति भए पनि कवितासङ्ग्रहका रुपमा पहिलो हो। यसअघि उहाँका उपन्यास, गजलसङ्ग्रह र समालोचनात्मक कृतिहरु प्रकाशित भइसकेका छन्। यस कवितासङ्ग्रहमा ८८ वटा कविता संकलन गरिएको छ, जसमा नारी अस्तित्व र चिन्तनको स्वर प्रमुख रुपमा उभिएको छ। अर्याल हाल त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पसको नेपाली विभाग प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ । कार्यक्रममा प्रकाशित दुवै कृति क्रमशः ‘बेचैन अभिलाषा’ सङ्गम बुक्स, काठमाडौं र ‘My Little Window’ पेजटर्नर प्रा. लि. काठमाडौंबाट बजारमा आएको जनाइएको छ ।