कथा

सहर झुमिरहेछ
गाउँ झुलिरहेछ
यो पप- लहरको र्यापमा
र यसको इन्द्रजाली मोह
किंकर्तब्यविमूढ भड्किरहेछ
गन्तव्यको निसाना खोज्दै
पाखण्डीहरूले खेलाउँदै गरेको
खड्ग निसानामा सिर राखेर ।
पप- नायक जन्मन्छन्
दिग्दिगान्त हल्लाउँदै समयको चञ्चलता
र लगत्तै हराउँछन्
विस्मृतिको गर्भमा ।
पप- पुस्ताको रेकर्ड राख्ने
चित्रगुप्तको काम
अहिले कुनै रोबोट
वा रोबोटजस्तै कुनै
तीव्र गतिमा गतिमान
भर्चुअल मिडियाले गर्छ ।
पप- संस्कृतिको नयाँ शिखण्डी
पप- राजनीतिको
नयाँ पुस्तामा दीक्षित
रोबोटतुल्य एक्टिभिस्टहरू
झुकून् पैसा र प्रभावका
मोहिनी धम्कीसँग
झुकून् एक धुर्वीय दबाबसँग
नझुके पनि आवाज ननिकालून्
वा सुनून् र्याप मात्र एकहोरो
र सलाम गरून्
पप- राजनीतिको
कल्की अवतारलाई
पप- सत्ताका प्यादाहरूलाई
र प्रतिशोधको मुखुण्डोलाई
राम्रोसँग थाह छ
पप- संस्कृतिमा राजनीति
कुनै वर्गको हुन्छ कि हुँदैन ?
राजनीतिको कुनै सरोकार
हुन्छ कि हुँदैन ?
र यो पनि उनीहरूलाई नै थाहा छ
पप- राजनीतिको आँधीमा
किन हार्छन् पराजितहरू ?
र विजेताहरू किन जित्छन् ?
सत्ता- साझेदारी
र हुन नसकेको पदीय भागबन्डा
वा विभाजनको गणना- पद्धति
कुन विद्यालयमा पढाइन्छ ?
जब जोत्छ पप- सत्ताले समय- घोडा
मुखमा लगाएको
फलामको काँडेकरेली फाल्दै
विद्रोहका दुई विपरीत पुस्ता मैदानमा आउँछन् ।
ती जो सक्कली हुन्
ती मारिन्छन्
वा भूमिगत हुन्छन् प्रतिरोधमा
र जो पप- सारथि हुन्
ती जोडजोडले उफ्रिन्छन् देखिने गरी
हल्ला गर्दै, नारा लाउँदै
माइतीघर मण्डला, लैनचौर
वा सत्ताका नयाँ तबेलाहरूमा
सफल राजनेता भनिएर ।
हल्ला र नाराले ढाकेर विचार
र कुतर्कले कुल्चेर तर्कलाई
डिस्कोझैँ ठानेर राजनीतिको मैदान
आस्था र मूल्यको दुहाई दिँदै कुर्लने
पप- आन्दोलनका
मर्सिनरी लडाकाहरू
साँच्चै नेताजस्ता देखिन्छन् ।
यो पप- समयको
पप- राजनीति हो
पपको विजययात्रा जारी छ ।
(सुवेदी स्थापित साहित्यकार हुन्)
[email protected]