कविता

वासिङ्टन डिसी, अमेरिका र अमेरिकामा पुनस्र्थापित नेपालीमूलको भुटानी संस्था ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेसन अर्थात् जिबिएलओको आयोजनामा तीन दिने अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान सम्पन्न गरेको छ । यो यस संस्थाले गरेको पाँचौं सम्मेलन हो । यसअघि चौथो सम्मेलन न्युलिल्याण्डमा आयोजना गरिएको थियो भने पहिलो, दोश्रो तथा तेश्रो सम्मेलन अमेरिकाका विभिन्न राज्यमा आयोजना गरिएका थिए । यस पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा आयोजित सो सम्मेलन सिक्किमका पूर्व मुख्यमन्त्री तथा साहित्यकार पवन चामलिङले पानसमा बत्ती बालेर समुद्घाटन गर्नु भएको थियो ।
पहिलो दिन कार्यक्रमको उद्घाटन पूर्व शान्ति पदयात्राको आयोजना गरिएको थियो भने उद्घाटन पश्चात् विविध नेपाली सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरिएका थिए । कार्यक्रममा अमेरिका तथा नेपालका राष्ट्रिय गीत समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि पवन चामलिङले नेपालीभाषा र साहित्यलाई बलियो बनाएर संसार हाँक्नुपर्ने बताउनुभयो ।
त्यसैगरी डा. गोविन्दराज भट्टराई, डा. अन्जना भट्टराई, डा. मधु माधुर्य, विष्णुमाया परियार, कृष्ण धरावासी, गोविन्तगिरी प्रेरणा, डा. कविता लामा, विन्द्या सुव्वालगायतले पत्र प्रस्तुति गर्नुका साथै विशेष सम्वोधन गरेका थिए । सम्वोधनमा सवैजसोले नेपालीभाषा साहित्यको अन्तर्राष्ट्रिय जगतमा फैलाउनु पर्ने तथा जगेर्ना गर्नुपर्ने आशय थियो । सो अवसरमा साहित्य र वातावरणको विषयमा परिसम्वाद समेत गरिएको थियो जसमा पवन चामलिङ, ब्रायन हितान, डेन्जोम साम्पाङले भाग लिएका थिए भने संयोजन प्रदीप थापा परियारले गरेका थिए ।
पहिलो दिनको साँझ विशेष सिर्जना वाचनमा पचासौं सर्जकले आ-आफ्ना रचनावाचन गरेका थिए भने करिव एक दर्जन पुस्तकहरु विमोचन गरिएको थियो । सो कार्यक्रममा पेन्सिलभेनिया राज्यको डल्फिन काउण्टीका कमिस्नर लगायतले सम्वोधन गर्नुका साथै आयोजक संस्थालाई सम्मान प्रदान गरेका थिए । सो अवसरमा विशिष्ट साहित्यकार लीलवहादुर क्षेत्रीलाई पुरस्कार समेत प्रदान गरिएको थियो । तर लीलवहादुर क्षेत्रीको सो पुरस्कार पछि हस्तान्तरण गरिने वताइएको थियो ।
सो अवसरमा १८ भाषामा गाइएको गीतको श्रव्यदृष्यको पनि सार्वजनिकीकरण गरिएको थियो । जिबिएलओका अध्यक्ष कर्ण गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रम २ दिनसम्म सभाहलमा चलेको थियो । दोस्रो दिनको कार्यक्रममा प्रमुख अतिथि पवन चामलिङ, विशेष अतिथि डा. गोविन्दराज भट्टराई तथा विशेष अतिथिहरूलाई अभिनन्दन तथा सम्मान गरिएको थियो । दोस्रो दिनको साँझको सांस्कृतिक कार्यक्रममा चर्चित गायक जगदीश समाल तथा नेपाल आइडल विजेता किरण गजमेरको प्रस्तुति विशेष आकर्षण रहेका थिए ।
नेपालबाट डा. गोविन्दराज भट्टराई तथा डा. अन्जना भट्टराई आतिथ्यता ग्रहणका लागि पुग्नु भएको थियो । त्यसैगरी बेलायत, नर्वे, न्युजिल्याण्डबाट समेत सहभागिताका लागि अतिथिहरूको उपस्थिति थियो । तेस्रो दिन भने अतिथि साहित्यकारहरूलाई “श्रष्टा भ्रमण”कार्यक्रम अन्तर्गत डल्फिन काउण्टीका हर्सी शहर तथा नेशनल सिभिलवार म्युजियम अवलोकन भ्रमण गराइएको थियो ।