• २०८१ श्रावाण १२ शनिवार

छेरूवा भगवान्

खेमराज पोखरेल

खेमराज पोखरेल

मेरो घरमा छठ पूजा धुमधामसँग गर्ने प्रचलन छ । छठ पूजाका लागि बक्राहा खोलाको किनार सफा गर्न मान्छेहरू लागिरहेका थिए । म पनि हातमा कोदालो लिएर आफ्नो भागको ठाउँ सफा गर्दै थिएँ । साथमा सात वर्षको नाति थियो । ऊ मेरो पछिपछि पुगेको थियो । मलाई खोलाकिनार सफा गर्न थालेको देखेर उसले भन्यो-  ‘के गर्न थालेको हजुरबा ?’
मैले सहज जवाफ दिएँ-  ‘छठको पूजा गर्न सफा गर्न लागेको हुँ नाति ।’
नातिको जिज्ञाशा झन् थपियो- ‘यत्तिकै सफा नगरी पूजा गरे हुँदैन हजुरबा ?’
अनि मैले पन्छाउने हिसाबमा भने- ‘फोहोर ठाउँमा भगवान् आउँदैनन् । सफा पार्नुपर्छ !’
ऊ चुप लाग्यो ।
भोलिपल्ट विधिपूर्वक छठ पूजा सकियो । सूर्यलाई अघ्र्य दिएर पूजाको विसर्जन हुँदै थियो । नातिले म नजिक आएर भन्यो- ‘हजुरबा पूजा सकियो ?’
मैले सहज जवाफ दिएँ- ‘सकियो ।’
नातिले फेरि प्रश्न गर्यो- ‘खोइ त मैले भगवान् आएको देखिनँ नि ?’
मैले फेरि टार्ने हिसाबमा भनेँ- ‘आएका थिए नि, तँ  निदाएको थिइस् ।’
नातिले जवाफ दिय- ‘भगवान् छेरूवा हुन्छन् हो हजुरबा ?’
‘के भन्छ यो ?’ मैले छोटो जिज्ञासा राखेँ ।
अनि नातिले भन्यो- ‘हो नि हजुरबा, भगवान् आएछन् अनि बाटो र खोला किनारैभरि रातभरि आची गरेर गएछन् । भगवान्लाई यसरी आची गर्न हुन्न भन्ने थाहा छैन हजुरबा ?’


(हाल सान एन्टोनियो, अमेरिकानिवासी पोखरेल चर्चित साहित्यकार हुन् । उनका कविता, कथा, लघुुकथाका करिब एक दर्जन कृतिहरू प्रकाशित छन् )
[email protected]