• २०८० असोज ७ आइतबार

स्मृति

प्रभात तिमिल्सिना

प्रभात तिमिल्सिना

अँध्यारो एउटा कोठा जहाँ म बस्छु
लामो सडकको छेउमा उभिएर आउनेहरूलाई हेरि बस्छु
पहिले पहिले यहाँ मुटुको धड्कन चल्थ्यो
विश्वास हुन्थ्यो कोही पक्कै आउनेछ
जो सबेरै मलाई आनन्दको संसारमा लिएर जानेछ
कुनै काल्पनिक सत्य नै भए पनि
मेरो आँखामा विशाल सपनाहरूले सास फेर्ने गर्थे ।

सुन्छु सान्त्वनाका मीठा शब्दहरू
म तिर लक्षित गर्दै तिमिले फालेको
देख्छु आकाशको क्रमिक फैलावटले मलाई लखेटेको
अनिदो रातमा औँलाहरू बिच
विलापको कुनै आवाजले अनुहार बनाई रहेको
जीवनका अप्रत्याशिला घटना परिघटनामा
नदेखिएका सुन्दर क्षणहरूमा प्रत्येक पटक
म कुनै न कुनै रूपमा त्यो अज्ञात आवृत्तिमा
इच्छा वा उदास शब्दलाई साथ प्रतिस्थापन गर्न
कयौंपटक टुटेको छु ।

मलाई त्यो ठाउँको चाहना लाग्छ,
जहाँ कुहिरो बिच मेरो अबोध आत्मा मलाई
जिउँदै मलाई पर्खिरहेका होस्

फराकिलो मनको फाँटमा उम्रिएका दुखका घाँसे मैदानमा
बेलाबेला,जिन्दगीका धिपधिप गर्ने साँझहरु ओर्लेर,
आफ्ना आशाले भरिएका छाँयाको अनुहार लिएर फर्कन्छन् ।
म आफू भने
नङ्ग्राले माटो कोतारे जसरी आँखा बाट हराएको निद्रालाई जीवनको आयु रेखामा कोतार्दै बस्छु ।

जीवनको एक उदास किनारबाट स्मृतिका छालहरूमा
अझैसम्म तिम्रो उपस्थितिको कुनै आनन्द म भित्र जिउँदै छ
मेरो इच्छाको विशाल जङ्गल भित्र
तिमिले अस्वीकार गरिनौं भने कुनै दिन देखाउला
प्रत्येक बिहान मेरो हृदयमा, तिम्रोलागि उदाउँछ
प्रेमको एक सुनौलो सूर्य ।


प्रभात तिमिल्सिना