• २०८१ भाद्र २७ बिहीबार

क्षितिज मगरको कथासंग्रह ‘भेडीकम्बलको प्वाल’ सार्वजनिक

साहित्यकार क्षितिज मगर कथासंग्रह ‘भेडीकम्बलको प्वाल’ सार्वजनिक भएको छ । शनिवार काठमाडौंको अनामनगरस्थित निम्तो रेस्टुराँमा साहित्यकारहरूको टोलीले क्षितिजको चौथो कृति सार्वजनिक गरेका हुन् ।जनयुद्धका समयमा बन्दुक चलाउने क्षितिजको यो चौथो कृति भएको पूर्व ब्रिगेड सहायक कमान्डरसमेत रहेकी होलिका केसीले बताइन् । दर्जनौ लडाईमा हामीसँगै लड्यौं पहिले उहाँ बन्दुक चलाउनु हुन्थ्यो । अहिले कलम चलाउनुहुन्छ, केसीले भनिन, दुखी गरिबको पक्षमा कलम चलाईरहनु होला ।
साहित्यकार एवं पत्रकार नवीन विभासले जलजलाको कथा सुनाउँदै हाम्रो गाउँको काँचुली फेर्नुपर्छ भन्थ्यो ऊ । धेरै लडे आँधीमा ऊ सदस्य हुँदै कमान्डर हुँदै गए । सहयोद्धाहरू गुमाए । खुशी गुमाएका पीडाहरू अक्षरमा पोखिन थाले । आँधीको समयमा त्यो बड्डो कवि पनि भएछ । गीतकार पनि भएछ । बड्डो पछि १२ बुँदेमा ब्रेक लागेछ । त्यही बड्डो क्षितिज मगर निम्तो रेस्टुराँमा झुल्केछ ।

भेडीकम्बलको प्वालमा सिँगो जेलबाङको कथा भएको विभासले सुनाए । कथाहरु मगर संस्कृतिले सजिएको समेत उनको भनाई थियो । यहाँ जेलबाङको भाषा छ । सिंगै जेलबाङ बोकेको छ । सबै पात्र त्यतैका छन् । मगर संस्कृति मजाले भरिएर आएको छ, उनले भने, क्षितिज मगरका कथा मान्छेका कथा हुन । साहित्यकार भावेश भुमरी आफै लेखक क्षितिजसँग विभिन्न समयमा भेट्दाको क्षण सुनाउँदा कतिपय भावुक बनेका थिए । क्षितिज बुवाबाट पढ्न सिक्थे । बुवाले ३६ लेखेको क्षितिजले ६३ भन्दा कुटाइ खाएको सम्झना हामीलाई सुनाउँथे ।

यस कथासङ्ग्रहका भाषा सम्पादक समेत रहेका साहित्यकार प्रमोद प्रधानले किताबमा १८ कथा रहेको उल्लेख गर्दै कथाहरू सशक्त रहेको बताए । कथाहरुमा पात्र सामान्य हुन्छन् । सबै पात्र जिउँदा हुँदैनन् ।कथालाई सशक्त बनाउन पात्रलाई जिउँदो बनाउन क्यारेक्टर बलियो बनाउनुपर्छ । भेडीकम्बलको प्वालमा १८ कथा छन् । कथा बनोटका आधारमा सबै सशक्त छन् । यसमा भएको विषयवस्तु माओवादी जनयुद्धकै हो, प्रधानले भने, कतै न कतै यसको चर्चा छ नै । जनयुद्धमा लेखिएको तारा राईको किताब ११ औं संस्करणसम्म गयो । कथाकै रुपमा त यो भेडीकम्बलको प्वाल सशक्त लाग्छ ।

प्रमुखअतिथि समेत रहेका प्राध्यपक केशव सुवेदीले कथाहरू कवितात्मक भएको बताए । किताबमा कथा भन्दा धेरै कविता छ । कवितात्मक छ । गहिरो संवेदनाबिना यस्तो रचना हुँदैन, सुवेदीले भने, रोल्पा बुझ्न, रोल्पाको समाज बुझ्न पनि यो पढ्नुपर्छ । प्रकाशन संस्था विवेक सिर्जनशीलका विजयराज आचार्यले कम्युनिस्ट लेखन कमभइरहेको बेला यो साहित्यबजारमा आएको बताए । कम्युनिस्ट लेखन कमभइरहेको बेला यो विमोचन कर्म भयो । विमोचनमा उपस्थिति हुँदैन भन्ने डर थियो तर व्यापक उपस्थिति रह्यो । हामीले कम्युनिस्ट साहित्यबाटै प्रकाशन शुरु गरेका थियौ, आचार्यले भने । रोल्पाको जेलबाङका क्षितिजले १७ वर्ष जनमुक्ति सेनामा बिताएका थिए । कविता लेखनबाट साहित्यमा यात्रा थालनी गरेका क्षितिजका यसअघि आस्थाका ‘पर्खालहरु’ कवितासंग्रह, ‘सुनछहरीको एनामा’ कथासंग्रह, गण्डक अभियान ‘डायरी’ प्रकाशित छन् । क्षितिज इमान्दार भएकै कारण चौथो कृति आएको तर नेतृत्व तहका मान्छेहरुले भने नयाँनयाँ धुनको चाहमा योद्धाहरुलाई बिर्सन थालेको आचार्यको भनाई रह्यो । १९२ पृष्ठको कथासंग्रहको मुल्य प्रकाशन संस्थाले ४५० रुपैयाँ तोकेको छ ।