दौडिरहेछ बर्षाैंदेखि
जिउँन रत्तिभर फुर्सद छैन ।
नियमितताकै ढाँचाभित्र
घुमिरहेछ समय काँटा
दौडिरहेछ अटुट पाइला
कुदिरहेछ क्रियाशील देह
बगिरहेछ पसिना नदि ।
बिना नविनता
बिना मौलिकता
बिना विशेष सृजनशीलता
“आहा !” बिनाको यात्रा
केवल यन्त्रवत छ गतिमान ।
बिना खुसी
बिना निशाना
बिना कुनै खास ठेगाना
नक्शा बिनाको राह
नित्य, निरन्तर छ चलायमान ।
यो पर–नियन्त्रित स्वतन्त्रता
जागृतिजस्तो यो बेहोसिता
परिवर्तनजस्तो यो निरन्तरता
सार्थकताजस्तो यो निरर्थकता
गतिशीलताजस्तो यो घोर जडता ।
किन यो यात्रा ?
पुग्ला कहाँ बाटो ?
बिना जिज्ञासा, बिना मिमांशा
संभावनाको चिराग निभाउदै ।
पुनरावृत्तिको म्याराथुनमा
आत्माको मीठो धुन छैन
सपना बिनाको निद्रामा
जीवनको उज्यालो जून छैन ।
चिन्तनको बीउ कुल्चिदै
उज्यालोमा आखा चिम्लिदै
यथास्थितिकै लिकमा
दौडिरहेछ बर्षाैंदेखि
जिउन रत्तिभर फुर्सद छैन !
दीपक चौलागाई