• २०८३ जेष्ठ ९, शनिबार

किन भनेनौ ?

 दिव्यता बराल

दिव्यता बराल

हाम्रो देशमा सीताको आशिष छ त भन्यौ
तर त्यही देशमा सतीको श्राप छ किन भनेनौ ?
मलाई भन्थ्यौ यो बुद्ध जन्मेको पवित्र भूमि हो
तर यो भूमिमा राक्षस छन् भनेर कसले भन्ने हो ?

हाम्रो समाजमा नारीलाई पुजिन्छ भन्यौ
तर त्यही समाजमा नारीलाई लुटिन्छ किन भनेनौ ?
महिलाले पढेर पुरुष खुसी हुन्छन् भन्थ्यौ
त्यो वचन भन्दा तिमीले ‌अपमानित छात्रालाई कहाँ लान्थ्यौ ?

हाम्रो देशले युवा जनशक्ति गुमाउँदैछ त भन्यौ
तर त्यसको कारण राजनितीक अस्थिरता हो किन भनेनौ ?
देश विकास गर्न आन्दोलन गरियो त भन्यौ
तर आन्दोलनमा ७५ जनाले ज्यान गुमाए किन भनेनौ ?

समाजले कहिले काहिँ झुटो बोल्छ त भन्यौ
तर अधुरो कुरा भन्छ किन भनेनौ?
तिमीले मलाई कठिनाइमा शान्त रहन त सिकायौ
तर आँखा अगाडि आफ्ना साथी मर्दा के गर्ने किन सिकाएनौ ?

आफूमाथि हिंसा भएमा आवाज उठाउन त भन्यौ
तर त्यो आवाज कसैले सुनेन भने के गर्ने किन भनेनौ ?
आफूले अपराध नगरेमा नडराउ भन्थ्यौ
तर समाजमा अपराधी होइन पिडित डराउनु पर्छ किन भनेनौ ?

राम्रो चाहाने मान्छेसँग नराम्रो हुँदैन भन्थ्यौ
तर त्यो भन्दा के तिमी हाम्रा शहिद गन्थ्यौ ?
हाम्रो देशले हामीलाई सुरक्षा दिन्छ सिकायौ
तर त्यही देशका मान्छे आतङ्ककारी भएमा के गर्ने किन सिकाएनौ ?

आफू माथि अत्याचार भए ठुलोलाई भन भन्यौ
तर ठुलोलाई पनि कसैले अत्याचार गर्छ भने के गर्ने किन भनेनौ ?
अहिले दाइजो अपराध हो त भन्यौ
तर हिजो उसलाई दाइजो नल्याएर गाडियो किन भनेनौ ?

मलाई लाग्थ्यो तिमी मलाई सबै कुरा भन्छौ
मलाई हाम्रो देशको वस्तविकता देखाउँछौ
समाजका केही सदस्य गतिला हुन्नन् त भन्यौ
तर तिमी पनि समाजको सदस्य हो किन भनेनौ ?


कक्षाः ९, उमेरः १३ वर्ष, सेन्ट मेरिज माध्यमिक विद्यालय