• २०८१ श्रावाण ११ शुक्रबार

असती कोरोना

भरत आचार्य

भरत आचार्य

असुरो खाएँ गुर्जो नि खाएँ निचरेँ कागती ।
पछ्याको पछ्याई गर्छ नि अझै कोरनो असती ।।
मुखमा मास्क हातमा पञ्जा सुटुक्क पस्छ कि ?
अच्छुँ नि खाएँ बच्छ्युँ नि खाएँ भन्ने नि फँस्छ कि ?

रक्तवीजजस्तो फैलेकोफैल्यै संसारै ढाक्यो नि ।
बूढा र पाका उमेर भा’का सबैलाई ताक्यो नि ।।
कहाँबाट आयो जाने हो कैले यतै पो बस्छ कि !
अच्छ्युँ नि खाएँ बच्छ्युँ नि खाएँ भन्ने नि फँस्छ कि ?

डाक्टर-वैद्य, न धामी-झाँक्री सकेनन् कसैले ।
विज्ञान-ज्ञान लडेकोलड्यै पछार्यो यसैले ।।
ओखतीमूलो बनेन भने सभ्यता लड्छ कि ?
अच्छ्युँ नि खाएँ बच्छ्युँ नि खाएँ भन्ने नि फँस्छ कि ?

सामाजिक दूरी बनाऊ भन्छन् नहोस् है विमति ।
नमान्नू गाह्रो यै’ रै’छ हजुर ऐलेको ओखती
चुरोट, रक्सी, धूलो र धूवाँ ठण्डीमा बस्छ कि ?
अच्छ्युँ नि खाएँ बच्छ्युँ नि खाएँ भन्ने नि फँस्छ कि ?

कोरोनालाई जितेकाहरू धेरै छन् संसारमा ।
क्यै दीर्घ रोगी छोडेर गए ईश्वरको दर्बारमा ।।
ईश्वरसँग प्रार्थना पनि गर्न पो पर्छ कि ?
अछ्युँ नि खाएँ बछ्युँ नि खाएँ भन्ने नि फँस्छ कि ?


(आचार्य चर्चित साहित्यकार हुन् ।)
[email protected]