लगालग चारजना छोरी जन्मेपछि
पूजा र भाकल गरेर म जन्मेको हुँ
सात महिना मै जन्मेकाले
मर्छु कि भनेर तीन महिनापछि मात्र
बुबाले मेरो मुख हेर्नुभएको हो ।
पुलपुलिएर हुर्केको हुँ
म चार वर्षको हुँदा मेरो बुवा र काकाहरूको
विवाद साह्रै चर्केर हामी स्याङ्जाबाट
खैरेनीटार बसाईँ सर्यौं ।
खैरेनीटारकै स्कुलमा भर्ना भएँ
पढाइमा राम्रो थिएँ, सधैँ फस्ट हुने
आठ क्लासमा हुदाँ स्कुले पत्रिकामा
पहिलो कविता लेखें ‘मुसो’
त्यो कविता क्रान्तिकारी भयो भनेर
सिडियोले बोलाएर थुने
तर विद्यार्थीहरूले धर्ना दिएर छुटाए ।
त्यसपछि त्यस्ता कविता छोडेर
प्रेमका कविता र गीत लेख्न थालेँ ।
०
त्यसैताका क्षेत्रप्रताप अधिकारी
स्कुलमा आउनु भएको वेलामा
मैले केही सवाल- जबाफ गरेकाले
उनले मलाई आफनो चुनाव-प्रचारमा हिँडाउनु भो
एसएलसीको रिजल्ट राम्रो भएन ।
तर त्यस प्रचारमा हिँडेर होइन
त्यहाँको शिक्षकले मेरो कपी
आफ्नो छोराकोसँग साटेकाले हो रै’छ
यो कुरा काठमाडौँ आएर पत्ता लाएपछि
झन्डै उनको घरमा आगो लाउन गा’को
तर अरूले सम्झाए ।
०
त्रिचन्द्रबाट अइएस्सी र बिएस्सी गरेँ
पढाइ राम्रै थियो
तर नाटकतिर चासो बढ्न थाल्यो
त्यहीवेला वागबजारमा
अविनाश श्रेष्ठसँगै डेरा गरेर बस्थेँ
त्यहाँ साहित्यकारहरूसँग भेट हुनथाल्यो
आरोहण नाट्य समूहसँग नजिक भएँ
यही क्रममा उमेश अर्यालसँग भेट भयो
बल्ल काम सिक्ने मौका मिल्यो
एसिस्टेन्ट भएर काम गरिरहेको थिएँ
अचानक शैलेश आचार्यले
मलाई चलचित्रको निर्देशक बनाइदिनुभो
तर तर्क गरेपछि झन्डै आउट गर्नु भा’को
त्यो फिल्ममा एकजना प्रोड्युसर तनहुँकै भएर
म फेरि आएँ र बन्यो- ‘तपस्या’ ।
०
फिल्ममा लागी सकेपछि
अब आफैँ मिलेर फिल्म बनाउने भनेर
अठार हजार रूपियाँबाट ‘सगुन’ सुरू गर्यौं
त्यसपछि केही बामपन्थी सोच भएका
निर्माताहरू आएपछि ‘आगो’ बनेको हो
हिन्दी फिल्म दिलजलेको थिममा ।
तर सेन्सरले रोकिदियो फिल्म
गिरिजाबाबुलाई भेटेर मात्र सेन्सर पास भयो
खाराको दुनैमा ‘आगो’ फिल्मजस्तै
चौकी जलाउने घटना भएपछि
माओवादी भने हनुमानढोकामा
सधैँ हाजिरी गर्नुपर्ने बनाए
फिल्म चल्यो, पैसा पनि कमायो
तर हामीले बडो मुस्किलले आफ्नो लगानी उठायौं ।
त्यसपछि लगातार फिल्म बनाइयो
करूण थापासँग भेटेर ‘रगत’ र ‘शङ्कर’मा
डिजिटल एनिमेशन गरायौँ- पहिलोपटक
डिजिटलमा जाँदा विरोध पनि भयो
फिल्म बनाउन सजिलो तर चलाउन गाह्रो
२५/२६ वटा सिनेमा बनाएपछि
‘एचआइभी सर्ट फिल्म’ प्रतियोगिता गराइयो
त्यहाँबाट अहिलेका चर्चित युवा सिनेकर्मीहरूको
नेपाली सिनेमामा प्रवेश भएको हो
र मलाई सिनेमा छोडेर टिभीमा जान मन लाग्यो
ललित अग्रवालले गर्दा एभिन्युजमा नगएर
म हिमालय टेलिभिजनमा गएँ
त्यहाँ आफूलाई मनलागेका
केही कार्यक्रमहरू बनाउन सकियो
फिल्म डिस्ट्रिब्युटरको हैकमबाट मुक्त भएँ ।
हिमालय टिभीमा काम गर्दागर्दै
बच्चाहरूको पढाइका लागि म अमेरिका गएँ ।
०
बिहे पनि मेरो फिल्मको कथाजस्तै छ ।
म वागबजारमा ट्युसन पढाउँथेँ
त्यहीवेला जन्डिसले थला परेँ
त्यस अवस्थामा मेरी विद्यार्थी उर्मिलाले
मलाई साह्रै सहयोग गरिन्
मन उनीतिर तानियो, प्रस्ताव राखेँ
स्वीकृत भयो उनीबाट
तर जेठानले उनको बिहेको कुरा
अन्त गर्न लागेको जानकारी दिएपछि
दुवैजना भागेर पोखरा पुग्यौँ
र त्यहीँ तालबराहीमा आफैँ एक-अर्कालाई
लोग्ने-स्वास्नी मानेर ढोग्यौँ
त्यहाँबाट खैरेनी आएँ र आमालाई मात्र भनेँ
काठमाडौँ आएकै दिन बुबाको फोन आयो
तुरून्त घर आउन भन्नु भो-
क्षेत्रप्रताप अधिकारीलाई सोधेँ जाऊ भन्नुभो
उनलाई उनको दिदीकोमा छोडेर घर पुगेँ
गाली गर्नु भो, रूवावासी भो
तर पछि जा बुहारीलाई लिएर आइज भन्नुभो
दसैँमा ससुरालीले नि टीका लाउन बोलाए
मलाई देखेर ससुराले छक्क पर्दै भने-
‘ल ! तिमी ज्वाइँ भन्ने थाहा पाए त उहिल्यै हुन्छ भन्थेँ’
सबैतिर सहज भयो पारिवारिक जीवन
२०५९ मा पहिलो छोरो जन्मियो-संयम
पाँचवर्ष पछि ‘संयुक्ता’ र चार वर्षपछि
कान्छो छोरो ‘संयोग’ जन्मियो ।
अहिले तीनैजना अमेरिकामै छन् ।
दुईजना आइटी पढ्दैछन् भने
कान्छो सिनेमाटोग्राफी पढ्दैछ
उनीहरूलाई बिस्तारै उतै ‘सेटल’ गरेर
म भने नेपाल नै फर्किन्छु ।
०
सधैँ अभावमै बाँचियो/हतारमै कुदियो
परिवारलाई समय दिनै पाइएन
अब घर र श्रीमतीलाई खुसी दिन चाहन्छु
उनीसँगै संसार घुम्न चाहन्छु
तनहुँ (आफू हुर्केको ठाउँ) का लागि
केही सकारात्मक कामहरू गर्न चाहन्छु
आफूलाई मन लागेको (कमर्सियल होइन)
सिनेमा बनाउन चाहन्छु ।
अहिले विगतलाई सोच्दा
बुबालाई केन्सर भाको वेला
थाहा नपाएर बचाउन सकिएन
त्यसको भने पछुतो लाग्छ
वास्तवमा सुख भनेको आफ्नो होइन
आफ्नो भनेको त दुःख हो
त्यसलाई भोगेर जीवन सहज बनाउनुपर्छ ।
कहिलेकाहीँ सोच्छु- किन सिनेमामा लागेँ
डाक्टर बनेको भए पनि हुन्थ्यो
तर अहिले तिनै डाक्टरहरुले डाहा गर्छन्
र म जे छु ठीकै छु जस्तो लाग्छ ।
पहिले खुसी हुनलाई ठूलो कुरा खोज्थेँ
र सधैँ दुखी मात्र भइरहन्थेँ
अचेल सानोसानो कुरामा रमाउँछु
र सधैँ खुसी भइरहन्छु ।
राजेन्द्र शलभ
[email protected]