• २०८१ श्रावाण ११ शुक्रबार

दशैं

एस आर ढकाल

एस आर ढकाल

ऊ बेला केराको घरी
बा ले दलिनमा ल्याए पछि
हाम्रा लागि आउन थाल्थ्यो दशैं
माथि सिरू डाँडामा गाउँलेहरू मिलेर
लिङ्गे पिङका बाँसहरू जोडेर
लठारो कस्न थाले पछि
टोल भरी आउँथ्यो दशैं
हाम्रो गाउँको एक मात्र भगवती मन्दिरमा
बिहानै घण्टाहरू बज्न थाल्थे
अनि लाग्थ्यो दशैं

दिनै पिच्छे पानी हालेर आमाले
जमरा उमारे जस्तै
जमरासंगै
दशैं हुलुक्क घटस्थापना
पञ्चमी, सप्तमी, अष्टमी हुँदै बढ्थ्यो

ऊ बेला कपडा सिलाउन जिउ नापे पछि
दशैंँ गाउँ भरिनै फूल जस्तै मगमगाउँथ्यो
घरहरू सिंगारिन्थे, सफाई हुन्थ्यो कुलो कुलेसाको
टोलभरीको बाटो सनक्क बढारे पछि
टुकुर टुकुर हिंड्दै हिंड्दै
घर घरमा पस्थ्यो दशैँ ।

दशैं कति रमाइलो !
रमाइलो लिएर आउँथ्यो
दिदीभिनाजुहरू शहरबाट फर्केको खबर सुने पछि
जागिरे दाजु भाउजु र भुराहरू घर भित्रिए पछि
दशैं कति रमाइलो भएर आउँथ्यो ।

अहिले फरक छ
बाध्यतामा आउँछ जान्छ दशैँ
क्यालेण्डरमा दशैंँ लेखिएको छ
जोडछ केही औपचारिकता केही परिपुरकता
अनि हतार हतारमा जान्छ
भ्याउँदैन दशैंँ गाउँ छिमेकमा पिङ खेल्न
पक्कु घरघरमा चाखेर हिंड्न
छोरो बगरबाट उड्दैछ यो पाली
जे होस दशैं जोडिँदैछ
कामना गरौं
र नटुटोस यो मायाको अगाध गाँठो
शुभकामना दशैंँ  तिमीलाई ।


एस आर ढकाल
[email protected]