• २०८१ कातिर्क २५ आइतबार

हेराई र बुझाई

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

एउटै थियो
हाम्रो परिवेश र परिस्थिति
कुरा गर्‍यो कुरा कै दुस्ख
उसको र मेरो टेकेको माटो
यहि हो
हिंडने बाटो पनि यहि हो
उपयोगमा भिन्नता भयो
हेराई र बुझाई फरक भयो ।

उसले यो बाटो र माटोकाप्रति
कहिल्यै विश्वास गरेन
यद्यपि
यहि माटो खायो
यहि माटोमा लडिबुडी खेल्यो
यहि बाटो हिंड्यो
यहि माटो र बाटोले बिजेता बनायो
माटो र बाटोलाई बिरानो सम्झिरह्यो ।

ढुङ्गो देख्दा फुटाउन खोज्छ
थुङ्गो देख्दा भत्काउन खोज्छ
उसको र मेरो भिन्नता यहि देखिन्छ
म ढुङ्गोमा देवताको बास देख्छु
थुङ्गामा स्वर्गको आभास पाउँछु
ऊ आफुलाई भौतिकबादी मान्छ
मलाई पुरातनबादी देख्छ
ऊ भित्रभित्रै लुकाएर
सबै थोक गर्छ
बाहिर ढोङ भन्छ ।

म जे गर्छु आत्मैदेखि गर्छु
उसको मनमा कपट छ र
मेरो हिंडाई,बोली, व्यबहारमा
शंका गर्छ
दिलमा खोट छ र
सबै तिर शत्रु देख्छ ।

सायद यसैबाट
विवाद शुरु भयो, द्वन्द भयो ।

उ निषेधमा जोड गर्छ
निषेधको निषेधका लागि नियम रटाउँछ
एउटा सिद्धान्तद्वारा
अर्को सिद्धान्तको निषेध भन्छ
एक अवस्थाद्वारा
अर्को अवस्थाको निषेध भन्छ ।

उहीँ परिवेश
उहीँ परिस्थिति
मात्र भिन्नता
हेराई र बुझाइ ।


कैलासकुमार पाण्डेय
परशुराम ५ बिष्णुपुर, डडेल्धुरा