N&J Entertainment NY INC अमेरिकाले यो बर्ष प्रदान गरिने पुरस्कृत व्यक्तिहरुको नाम सार्वजनिक गरिएको छ ।
यो संस्था भाषा साहित्य र संस्कृतिको जगेर्ना गर्नको निमित्त अमेरिकामा खोलिएको हो । यो संस्थाले २००५ देखि अमेरिकामा निरन्तर काम गर्दै आइरहेको छ । राम्रो काम गरे बापत यहाँको गभरर्मेन्टले दुई चोटी पुरस्कार प्रदान गरिसकेको छ । यो नेपालीहरुको लागि खुसीको कुरा पनि हो । प्रवासमा आएर आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्नु चानचुने कुरा होईन । यो संस्थामा कुलचन्द्र गौतम, रवि लामिछाने, हरिचरण लामिछाने, शम्भुजित बास्कोटा देखि बसुन्धरा भुसाल, पदम देवकोटा, अनेसास संस्थापक अध्यक्ष श्री होमनाथ सुबेदी, शैलेष श्रेष्ठ, किशोर पन्थी, वरिष्ठ गायक प्रकाश श्रेष्ठ, सपना परियार आदि धेरै धेरैले सम्मान पुरस्कार कार्यक्रम संचालक र अतिथिको भूमिका निभाइसकेका छन् । यहाँ जन्मेर हुर्केका बच्चाहरुको लागि, बालबालिकाको लागि पनि यो संस्थाले धेरै काम गरिसकेको छ ।
अमेरिकामा पहिलो पटक र दोस्रो पटक US Nepal children Talent Show गरिसकेको छ । यसरी अमेरिकामा यस्ता धेरै राम्रा सन्देशमूलक कार्यहरु गर्दै आएको यो संस्थाले यो वर्षदेखि स्वदेश र विदेशमा रहेर समाज, देश र सबैमा राम्रो प्रभाव पार्न सफल केही व्यक्तिहरुलाई पुरस्कार दिने घोषणा गरेको छ ।
यस वर्षको पुरस्कार पाउने आफ्नो क्षेत्रका कर्मयोगीहरु हुनुहुन्छ । श्री नारायण जयन्ता प्रसाईं नेपाली वेभ जर्नाल्जम अवार्ड प्राप्त गर्ने हुनुहुन्छ । अमेरिकाबाट इ नेप्लिज डटकम र नेपालवाट पुर्वेली न्यूज डट कमका मणिराम दाहाल । पुरस्कार राशी २५/२५ हजारको रहेको छ ।
स्वर्गीय यम बुद्ध अनिल अधिकारीको नामबाट स्थापित पुरस्कार रयाप सम्राट यमबुद्द पुरस्कार यो पटक कलाकार, रयाप गायक सबैका युवा ढुकढुकी काठमाडौंका मेयर श्री बालेन शाहलाई प्रदान गरिने भएको छ ।सामाजिक क्षेत्रमा प्रदान गरिने पुरस्कार यो वर्ष लक्ष्मी प्रतिष्ठान र तुलशादेवी हरिहर फाउन्डेसनलाई प्रदान गरिने भएको छ । पुरस्कार राशी २५/२५ हजारको रहेको छ ।
साहित्य संगित, गायन कलाकारिताको क्षेत्रमा प्रदान गरिने एकलाख राशीको पुरस्कार चार जनालाई संयुक्त रुपमा जनही २५ हजारको दरले प्रदान गरिने भएको छ । यो पुरस्कार पाउने व्यक्तित्वहरु हुनुहुन्छः वरिष्ठ कथाकार माया ठकुरी, वरिष्ठ साहित्यकार गार्गी शर्मा, पप सम्राट ओम विक्रम बिष्ट र भारतमा रहनुहुने भारतिय नेपाली वरिष्ठ साहित्यकार निबन्धकार कृष्ण प्रधान हुनहुन्छ ।
यो वर्षको लोकप्रिय युवा नेता हर्क साम्पाङ (धरान)लाई स्वर्र्गीय अर्जुनप्रसाद प्रसाईं लोकप्रिय युवा नेता पुरस्कार प्रदान गरिने भएको छ । यी पुरस्कार नेपालमा रहनेलाई नेपालबाट र अमेरिकामा रहनेलाई अमेरिकाबाट नै प्रदान गरिने ब्यहोरा जानकारी गराइन्छ । यी माथिका पुरस्कारको प्रायोजन साहित्यकार गीतकार कमला प्रसाईंले गर्नु भएको हो । वहाँ यस संस्थाको संरक्षक पनि हुनुहुन्छ ।