आफू भए कुवारा दाइकै साली मन पर्यो
माया गरेर दिएको उसको गाली मन पर्यो
रूपरङ्गको के कुरा चड्दो त्यो बैँस प्यारो छ
गोरी नभए पनि हिस्सी परेकी काली मन पर्यो ।।
सुन्दर मान्छेको हेर कत्ति सुन्दर फोटो
भेटिएन कतै- केही छ कि देखाउने खोटो
सजिएकी छिन् शालीन पहिरनमा उनी आज
छैन शरीरमा अरूको जस्तो ब्लाउज छोटो ।।
किन नभनूँ तिमीलाई माया गर्छु भनेर
छटपट छ यो मन तिमीभित्र सर्छु भनेर
भोलिभोलिमै तिमी अर्कैकी हुने हौ कि
लौ त म आइहालेँ सिउँदो भर्छु भनेर ।।
नौलोनौलो त हो हाम्रो चिनाजानी
मन खोलेर ढुक्कसँग भएको छैन कुराकानी
मायाको लक्ष्मण- रेखा कसरी नाघ्न सक्छु
बुझ्नु पनि त पर्छ एकअर्काको आनिबानी ।।
०००
भो तिम्रो रूपको जालमा फसाउन नखोज
गहभरि आँसु दिएर ओठलाई हँसाउन नखोज
कस्तो छ तिम्रो माया राम्ररी जानिसकेँ
मेरोसामु अरूलाई अँगालोमा बसाउन नखोज ।।
०००
को मित्र को शत्रु पैसाकै सब खेल हो
सम्पत्तिकै लागि गर्ने सब ठेलमठेल हो
पैसाविना एक पाइला पनि चल्दैन गाडी
धस्न नहुनेको जिन्दगी त एकदम फेल हो ।।
०००
सलबलाउछन् उनकै याद मनमा घरिघरि
दौडिरहन्छ उसकै झझल्को आँखावरिपरि
जानेले त सम्झना पनि सँगै लगिदिए हुन्थ्यो
तान्छ उसकै नजरले हर प्रहर आँखा तरितरी ।।
०००
मनमा होइन मान्छे तनकै लागि मर्छन्
आफ्ना चाहना पूरा गर्न जे पनि त गर्छन्
पाप- पुण्य के हो हेक्का नै राख्दैनन् कोही
तनको आगो निभाउन बैँसको खोला तर्छन् ।।
(वैद्य चर्चित साहित्यकार हुन् ।)
[email protected]