• २०८१ पौष २९ सोमबार

दिग्भ्रम

राधा दुलाल कार्की

राधा दुलाल कार्की

एक दिन रुद्रले
तत्–तत् आकृति
देखाउँदै भनेको थियो-
यी अवसरवादी हुन्
यी गिटगिटधारी हुन्
यी शासनका हिमायती हुन्
न यिनले आमाको पीडा बुझ्छन्
न त बाबुको काँधको जुवा देख्छन् !

त्यो घडी
मलाई लागेको थियो
रुद्र केहि भड्किएको छ
ऊ केहि तड्पिएको छ
सहमत हुन सकिनँ म उसको संवादमा
प्रतिवाद गरेँ-
मैले सम्मान गर्दै आएका
मैले विश्वास गर्दै आएका
यी पात्रहरू
कसरी यति तल झर्न सक्छन् ?

म गर्व गर्थें यिनलाई हेरेर
र मनमनै भन्थेँ-
यी राष्ट्रनिर्माता हुन्
यी देशभक्त हुन्
यी जनताका संरक्षक हुन्
यी भरोसाका जङ्गेपिलर हुन् !

जब कसैले
घरमा ढुङ्गा हान्यो
बाबुको कठालो समात्यो
आमाको ढुङ्ग्री तान्यो
दाइको पिठ्यूँ मा छुरा रोप्यो
बहिनीको चुल्ठो लुछ्यो
तब चिच्याएँ म
ए बर्दीधारी हो !
लौ न बचाऊ
मलाई यो आततायी हमलाबाट !

एकाएक स्खलित भए
आज ती विश्वासका पात्रहरू
जसले माटोको रक्षा गर्न सकेनन्
स्वाभिमान र स्वाधीनताको
सुरक्षा गर्न सकेनन्!

यसवेला म विह्वल भइरहेकी छु
स्नेही रुद्रको
सतर्कतापूर्ण आग्रहलाई सम्झेर ।


(कार्की चर्चित साहित्यकार हुन्)
[email protected]