समाचार

काठमाडौँ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा स्मृतिग्रन्थ ‘माधव सर’ सार्वजनिक गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षाविद् माधवप्रसाद मरहट्टा स्मृतिग्रन्थ पुस्तकको आइतबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरेका हुन् । सामुदायिक र निजी विद्यालय प्रवर्द्धनमा योगदान पुर्याएका महरट्टाले वामपन्थी आन्दोलनलाई अहिलेको अवस्थामा ल्याउनसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्रीले प्रशंसा गरेका थिए ।
महरट्टाले १० वर्षे सशस्त्र विद्रोहको बेलामा साथ दिएको दाहालले स्मरण गरे । प्रधानमन्त्रीले सरकारले सुरु गरेको भष्टाचारविरोधी अभियानमा समेत सहयोग गर्न आग्रह गरेका थिए । गोरखाको जनता मावि आँप-पिपललगायत विभिन्न सामुदायिक विद्यालयमा शिक्षण सुरु गरेर निजी विद्यालय स्थापना र सञ्चालनमा समेत मरहट्टाको भूमिका रहेको छ ।
उनी काठमाडौंस्थित फ्लोरोसेन्ट र साउन वेस्टर्न स्कुलका संस्थापकमध्येका एक हुन् । उनले नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनको जिल्लादेखि केन्द्रसम्मको नेतृत्वमा रहेर शैक्षिक भूमिका पनि निर्वाह गरेका थिए । २०५८ र २०६० सालमा तत्कालीन विद्रोही माओवादी र सरकारबीच शान्ति वार्ता गराउनसमेत मरहट्टाले भूमिका लेखेको पुस्तकमा उल्लेख छ ।
२०७७ कात्तिक २६ गते कोरोना संक्रमणका कारण उनको निधन भएको थियो । परिवारले स्मृति फाउन्डेसन स्थापना गरेर गोरखा र काठमाडौंका ५ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ । शैक्षिक र स्वास्थ्य क्षेत्रमा काम गर्न फाउन्डेसनले १५ लाख रुपैयाँको अक्षयकोष बनाएको छोरा सुमनबाबुले जनाए ।