समाचार

थाहै नपाई ढल्दोरहिछ सपनाको सानो घरबार
खरानीझैँ उड्दोरहिछ जलेपछि दिलको संसार !
किन आउँछ सम्झनानि
ह्रदयको दलिनभरि
किन दुख्छ यो मुटु पनि
झिरैझिरले घोचेसरि ?
बल्झीबल्झी दुख्दोरहिछ छाती पनि बारम्बार
खरानीझैँ उड्दोरहिछ जलेपछि दिलको संसार !
एक्लै एक्लै टोलाउँछ मन
यादै यादले रेटेपछि
तिर्सनाको भेलबाढी बग्छ
चन्द्रमालाई देखेपछि ।
तलाऊ बनी जम्दोरहिछ आँसुकै त्यो एक नहर
खरानीझैँ उड्दोरहिछ जलेपछि दिलको संसार !
किन डढ्छन् मीठा सपना
डढेलोले खाए सरि
किन बग्छ नीलो नदी उल्टो
छाती फुटी आँखाभरि ।
बगर बनी सुक्दोरहिछ यो जिन्दगीको सीमसार
खरानीझैँ उड्दोरहिछ जलेपछि दिलको संसार !
प्रथा चर्चित कवि हुन् ।
[email protected]