• २०८२ आश्विन २२, बुधबार

गीतकार नारायण खतिवडाको गीति–संग्रह ‘बहार’ विमोचित

काठमाडौं ।

गीतकार नारायण खतिवडाको गीतिसंग्रह ‘बहार’ कौशलटारस्थित बिडब्लु रेष्टुरेण्टमा लोकार्पण गरिएको छ। कार्यक्रम साहित्यकार तथा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को सभापतित्वमा सम्पन्न भएको हो । सभापतिका साथमा गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, संगीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष सूर्य थापा मगर, सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, संगीतकार तथा संगीत रोयल्टी संकलन समाज नेपालका महासचिव बसन्त सापकोटा र स्वयं गीतकार खतिवडाले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभयो ।

कार्यक्रममा बोल्दै संगीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष सूर्य थापा मगरले साहित्य र संगीतको विकासका लागि सर्जकहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले सामूहिक प्रयासबाट मात्र साहित्य र संगीतलाई अगाडि बढाउन सकिने बताउनुभयो । यसैगरी, सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले सिर्जनाको सम्मान गर्दै विदेशमा जस्तै नेपालमा पनि सिर्जनालाई धितो राख्न सक्ने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

संगीतकार बसन्त सापकोटाले गीत–संगीतलाई दर्ता गरी व्यावसायिक बनाउन र प्रतिलिपि अधिकार ऐन संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । त्यसपछि, गीतिसंग्रहका लेखक नारायण खतिवडाले समाजमा देखिएका वास्तविकतालाई गीतमा उतार्ने प्रयास गरेको बताउनुभयो । कार्यक्रमको समापन गर्दै सभापति रोदनले अहिले गीत लेख्ने नाममा शब्द थुपार्ने प्रवृत्ति बढेको र नदीको तल्लो धारझैं गीतकारहरू ओझेलमा पर्न थालेको टिप्पणी गर्नुभयो । शब्द मिडिया प्रा.लि.,साहित्यपोस्टद्वारा प्रकाशित संग्रह ‘बहार’ लोकार्पण कार्यक्रमको सहजीकरण सनतकुमार वस्तीले गर्नुभएको थियो ।