• २०८१ पौष २८ आइतबार

चर्चित हिन्दी फिल्म ‘आनन्द’को अन्तःरङ्ग

पाँच दशकअघि अर्थात् सन् १९७१ मा प्रदर्शित चर्चित हिन्दी फिल्म ‘आनन्द’को रिमेक समीरराज सिप्पीले गर्ने भन्ने खबरले बलिउडमा होहल्ला मच्चिएको छ । समीर तिनै एनपी सिप्पीका नाति हुन्, जो ‘आनन्द’ का निर्माता थिए ।
हृषिकेश मुखर्जीद्वारा निर्देशित ‘आनन्द’ कथा, पटकथा, संवाद, गीत, सङ्गीत र अभिनय सबैमा उत्कृष्ट त थियो । साथै यो राजेश खन्ना र अमिताभ बच्चनले सँगै काम गरेकोको पहिलो फिल्म पनि थियो ।
सन् १९७० मा ‘आनन्द’को निर्माण थालिँदा राजेश खन्ना ‘सुपर स्टार’ भइसकेका थिए । १९६९ मा खन्ना अभिनीत ‘आराधना’को अपार सफलताले उनलाई ख्यातिको आकाशमा पुरयाएको थियो ।
अमिताभ बच्चन भने ‘सात हिन्दुस्तानी’ पछि पहिलोपटक गतिलो भूमिकामा देखापरेका थिए ।

आनन्दमा अभिताभ बच्चन र राजेश खन्ना

विमल दत्त, हृषिकेश मुखर्जी, गुलजार, डिएन मुखर्जी र वीरेन त्रिपाठीले संयुक्तरूप बुनेको कथा माथि संवाद लेखेका थिए गुलजारले । गुलजारको संवादले आज पनि आनन्दलाई जीवन्त बनाउनेमा महत्त्वपूर्ण भूमिका खेलेका मानिन्छ । राजेश खन्ना अर्थात आनन्दले अन्त्यमा बोलको संवाद आज पनि प्रसिद्ध छ- ‘बाबु मोसाय ! जिन्दगी और मौत उपरवाले के हाथ में हैँ जहाँ पनाह । उसे न तो आप बदल सकते हैं, ना मैं । हम सब तो रंगमंच की कठपुतलीयाँ हैं, जिनकी डोर उपर वाले के उंगलियोँ में बंधी है, कब, कौन, कैसे उठेगा यह कोई नही बता सकता । हा हा हा हा !’

यस फिल्मले १९७१ को राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गर्यो । यो फिल्म १९७२ को फिल्म फेयर पुरस्कारमा सात विधाको नामाङ्कन भएकोमा सर्वश्रेष्ठ फिल्म, सर्वश्रेष्ठ अभिनेता (राजेश खन्ना), सर्वश्रेष्ठ सहअभिनेता (अमिताभ बच्चन), सर्वश्रेष्ठ संवाद (गुलजार), सर्वश्रेष्ठ कथा तथा सम्पादन (हृषिकेश मुखर्जी) गरी छ विधा पुरस्कृत भए ।

अर्को अचम्मको कुरा त के थियो भने सुपरस्टार भइसकेका राजेश खन्नाले यो चलचित्रमा विना पारिश्रमिक अभिनय गरेका थिए । खासमा खन्नाभन्दा अघि आनन्दको भूमिकामा धर्मेन्द्र र किशोरकुमारको नाम चर्चामा थियो । अझ निर्माता सिप्पी र निर्देशक मुखर्जीले शशी कपुरलाई त आनन्दको भूमिकाका लागि सहमति नै दिइसकेका थिए । तर अन्त्यमा सारा पात्रहरू बदलिए ।

राजेश खन्नाले मुखर्जी ‘आनन्द’ नामक बेजोड फिल्म बनाउँदै छन् भन्ने सुइँको पाएपछि निर्माता- निर्देशक दुवैलाई भेटेर गुनासो गर्दै भनेछन्- ‘तपाईंहरूले फिल्म बनाउँदै हुनुहुँदो रहेछ, मलाई त एक वचन सोध्नु पनि भएन ।’ अनि निर्माता- सिप्पीले भनेछन्- ‘तपाईंको पारिश्रमिक यति चर्को छ, म त्यति दिन नसक्ने भएर नभनेको हो ।’ अनि राजेश खन्नाले भनेछन्- म तपाईंसँग पारिश्रमिकको कुरै गर्दिनँ । विना पारिश्रमिक खेल्न तयार छु तर म यसमा खेल्छु खेल्छु ।’ यसरी राजेश खन्नाले सबैलाई पन्छाएर यो फिल्म आफ्नो भागमा पारिछोडे । उनले पारिश्रमिक नलिनुको ‘पारिश्रमिक’ उनका त्यसपछिका फिल्महरूमा प्रत्यक्षरूपमा परे ।

यस फिल्मको गीतको पनि रोचक प्रसङ्ग छ । भयो के भने ‘ना जिया लागे ना’ जुन धुनमा लेखियो यस धुनमा गीत लेख्ने जिम्मा सङ्गीतकार सलील चौधरीले गुलजार र योगेशलाई दिएका थिए । गुलजारको गीत पास भयो । तर यही धुनमा योगेशले पनि गीत लेखेका थिए, त्यसैले निर्माता सिप्पीले उनलाई २५ सय रुपियाँ दिए । अनि योगेशले सोधे- ‘मैले लेखेको गीत नै फिल्ममा नरहेपछि यो पारिश्रमिक किन लिऊँ !’ योगेशको कुरा सुनेर सिप्पीले सङ्गीतकार चौधरीलाई भने- ‘योगेशसँग पनि एउटा गीत लेखाउँदा राम्रो हुन्छ कि !’ अनि सङ्गीतकार चौधरीले योगेशलाई एउटा धुन दिए, त्यसैमा लेखिएको गीत हो ‘जिन्दगी कैसी है पहेली ।’ यस गीतबाट प्रभावित भई निर्माता र सङ्गीतकारले योगेशलाई अर्को धुन पनि दिए, जुन धुन चौधरीले बाङ्ला गीत- ‘आमाएँ प्रश्नो करे नील ध्रुव तारा’मा प्रयोग गरेका थिए । यही धुनमा योगेशले लेखेको गीत थियो- ‘कहीँ दूर जब दिन ढल जाए’ । जुन गीत फिल्मकै मात्र होइन हिन्दी फिल्मकै लोकप्रिय गीतमध्ये एक गीत हुनपुग्यो ।

आनन्दमा राजेश खन्ना र अमिताभ बच्चनका माझ निर्देशक हृषिकेश मुखर्जी