English Poem

चितवन ।
नारायणगढका पुराना बासिन्दा तथा पूर्वजनप्रतिनिधि बामदेव खनालले लेखेको पुस्तक ’स्मृतिका ज्वारभाटाहरू’ विमोचन भएको छ । चितवन साहित्य परिषद् (चिसाप) ले १६० औं मोतीजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा उक्त पुस्तक सार्वजनिक भएको हो । खनाल १९९० सालमा नारायणगढका जमिनदार रहेका कालिदास खनालका कान्छा छोरा हुन् । २०४९ सालको स्थानीय निर्वाचनमा वामदेव तत्कालीन भरतपुर नगरपालिका वडा नम्बर ४ का अध्यमा निर्वाचित भएका थिए । साविकको वडा नम्बर ४ मा नारायणगढको अधिकांश क्षेत्र पर्छ ।
खनालले पुस्तकमा नारायणगढको पुरानो अवस्था, जनप्रतिनिधि हुँदा खेलेको भूमिका, नारायणगढसँग जोडिएका पुराना जनप्रतिनिधि तथा व्यक्तिका बारेमा लेखेका छन् । साथै उनले चितवनबाहिर घुमफिरमा जाँदा बटुलेका अनुभवलाई पनि पुस्तकमा समेटेका छन् । खनालको यसअघि नारायणगढकै पुराना घटनासमेत रहेको पुस्तक ’सिर्जना र शुभेच्छुकहरूको दृष्टिमा वामदेव खनाल’ प्रकाशनमा आएको थियो ।
चिसापको उक्त कार्यक्रममा चिसाप राजकृष्ण मायादेवी पुरस्कार उपन्यास धीमहिका लागि लेखक जयराम तिमिल्सिना र चिसाप माधव खनाल साहित्य पुरस्कार सान्दाजु उपन्यासका लागि लेखक सुभास घिमिरेलाई प्रदान गरियो । दुवै पुरस्कारको राशी ३५ हजार ४५ रूपैयाँ रहेको छ । पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि चिसापका पूर्वअध्यक्ष श्रीभक्त अच्युत वाग्ले रहेका थिए ।