• २०८१ पौष २९ सोमबार

अजिगर्त-अदक्ष-अध्यक्ष

मदन दुलाल

मदन दुलाल

-अजिगर्तः
यो वैदिक युगिन कहानि हो
सामुन्ने
युप छ
युपमा बांधिएको छ पुत्र-शुनःशेप

फेर्दैछ
जीवनको अन्तिम दुई कप्टेरो स्वास
ठीक अगाडी
पुत्र काटिकन बलि चढाउन
तयार छ पिता-अजिगर्त

सम्पतिको लागि,
कोमल फूल समान पुत्रकन निमोठ्न तयार भएपछि
धर्मराएको हो जग समबन्धको
पुनर्गठन नहुनेगरि

अदक्ष:
यो कथाकलिजुगको हो
कोरोना छ सामुन्नेमा
मृत्युको कर्कश गीत गाउँदै हिंडेको
विकराल-भयावह
मरिरहेछन जनता-कुकुर बिरला जसरी
तर
जनताको लास टेकिकन उल्लासको दुन्दुभि बजाउन तयार छ

सरकार-वाईडेनादी
सरकारलाई शक्तिको प्रेम प्रिय हुन थालेपछि
थालेको हो घर गर्न शंकाले
शंका दक्ष उपर नभएर अदक्ष उपर गरिन्छ

अध्यक्षः
सम्पत्तिकोलागि
पुत्रकन काट्न तयार
अजिगर्त ईतरका अदक्ष
नयां कलेवरमा अध्यक्ष बनेका छन

शक्तिको प्रेममा पिङ खेलेर
हाम्रै दोहन गरिरहेछन

हामी भने
२१ औं शदीको शुनःशेपको अप्डेटेड भर्सन भएर
अन्यायको परिष्कृत धुनमा मुग्ध भई
फगत दुई कप्टेरो स्वास फेरिरहेछौं
फरक यतिहो
यहां युप छैन बांध्नलाई-छ “वाद”
वाद  ? -हजुर वाद

जस्तो कि
निमुखाको आवाज हुं भन्ने-मार्क्सवाद
जनताको लागि जनताले भन्ने-प्रजातन्त्रवाद
गणराज्यको दुहाई दिने-समाजवाद
स्वर्ग/नरकको डर देखाउने-भयवादादि

स्वयंलाई हारेर
यिनै कुनै वादको मधुर मेलोडीले मुग्ध हामी लम्पसार छौं
लम्पसारवादको जय गान गर्नमै
लम्पसार-“वाद”-को बांधले करेली लगाएसी
अजिगर्तलाई पिता देख्छौं
अदक्षलाई अध्यक्ष देख्छौं

शुनःशेपको नियती भोगीरहन्छौं/भोगीरहेछौं
युग युगान्तर सम्म।


(अमेरिका निवासी मदन दुलाल चर्चित कवि हुन्)
[email protected]