• २०८१ भाद्र २६ बुधबार

मिस यु बेलडाँगी !

युवराज नयाँघरे

युवराज नयाँघरे

रित्ता थिए पिँढीहरू ।
रित्तै थिए धेरैजसो घरहरू । स- साना बारीमा रोपेका तरकारी नि वनमाराले छोपिएथे । घरअघिका साना बुट्यानका हाँगा नि हुनसम्म बढेर घरभित्रै पसिसकेथे । ड्याङमा हुर्केका, फुलेका बेर्ना नि भुइँमा लत्रेर बिरूप देखिएथे ।
पिँढीका पिङ त्यत्तिकै हल्लिरहेथे । रित्ता कोक्रा र झोलुङ्गो पिँढीमा झुन्डिरहेथे त्यत्तिकै ।
तिहारछेउ म पुगेको छु- शरणार्थीका पिँढीमा ।
बेलडाँगीको यो लहरे बस्तीमा । भुटानी शरणार्थीका शिविरमा चिहाउन टुप्लुकिएको छु । सधैँको खबर र खोजले परेली खेलिरहने यस बस्तीमा फन्को मारिरहेको छु म ।
झन्डै दुई दशकअघि विद्रोहको बोलीले यतातिर आफूलाई सारेथ्यो । आफ्नो भाषा र भेषसहितको कठोर पाइलाले पूर्वजको ‘धाप र साथ’ लिन मेची तरेथ्यो नेपाली मूलको भुटानी समाजले ।
यो बेलडाँगी- शरणको एउटा थलो ।
त्यसो त पूर्वी नेपालको अरू थातथलो जस्तो । पथरी, गोलधापजस्तै । बिरिङ, कन्काईजस्तै । शरणार्थीका रित्ता सपना परिपूर्ण हुने झुप्राले भरिभराउ भए ।
बेलडाँगीका झुप्रा हेरिरहेको छु ।
यी झुप्रासँगै गाँसिएका धेरै कथा र आँसुले यहाँ सुस्केरा कहन व्यग्र छन् । यी टहरासँगै जोडिएका धेरै व्यथा र रोदनले यहाँ दुःखेसो र यातना सुनाउन आतुर छन् । यी तिनै आतुर र व्यग्र लहरमा आजभोलि रित्ता भइरहेका यी ‘चित्रे’ झुप्रामा फेरि पटक- पटक चिहाउन खोजिरहेको छु ।
बेलडाँगी- एउटा प्रतीक हो देश खोज्नेहरूको । बेलडाँगी- एउटा विम्ब हो राष्ट्र गुमाउनेहरूको ।
देश हुनु र गुमाउनुको सबैभन्दा आलो घाउमा नुनचुक छरेर परेली उघारिरहनु कति ठूलो विडम्बना हो ! त्यो विडम्बनाको भुइँमा भुटानीहरूको परिचय हरायो, हराइरहेछ ।
मैले भत्किरहेका झुप्रामा अतीतको नृशंस दमन पनि देखेँ । म छानो खुस्किरहेका टहराहरूमा निरङ्कुशताको अस्वीकारका आवाज उराल्दै बेलडाँगीतिर पसेथेँ ।
बेलडाँगी- स्वतन्त्रताको एउटा आँगन पनि हो । बेलडाँगी- समानताको एउटा चौतारी पनि हो । त्यही स्वतन्त्रता र समानताको स्वरमा अरू आवाज भर्न भुटानीहरू बेलडाँगीतिर आएथे ।
रित्ता र उराठ छन्- ती झुप्रा र टहराहरू ।
खाँबो भत्किरहेका घरहरू हेरेँ । बलो झरिरहेका टहराहरू हेरेँ । पिँढीमा कमिलाले माटो उठाइरहेका छन् । परेवाका खोर नि रित्ता, बाख्राका खोर नि रित्ता, सुँगुरका डुँड नि रित्ता ।
‘हाम्ले त उतै जाने भनेका हौँ  नि !’
बेलडाँगीको माझमा ठूलो बरको फेदैमा भेटिएका चिराङका हर्कमान राईले चिउँडो कन्याए ।
उनका दुई छोरा अमेरिका पसे । एउटी छोरी क्यानडा पसिन् ।
तर उहिल्यै पुलिसका चुटाइ र लघाराइमा परेका राईलाई छोराहरूले ‘मिस यु’ भनेर फेसबुकमा पठाएको मेसेज पढ्ने चस्मा किन्ने आँट पनि शरीरमा छैन, अथवा दमक पुगेर बैङ्कबाट पैसा ल्याउने जाँगर पनि जर्याकजुरुक गर्दैन ।
हर्कमानजस्तै उनका अरू दौतरीसँग पनि त्यही भुटानकै पुरानो ऐँठनले थिच्न छाडेको छैन । ती रातोदिन त्यही थिचाइमा परेका परेकै छन् ।
खाँदा- बस्दा जे गर्दा नि त्यै आफूले आँखा खोलेको देशले डाकिरहेको बाडुल्की लागिरहन्छ ।
मैले मन छामेँ- बिसमाया गहतराजको ।
‘हामी सोह्र हजार छौँ अझै  नि । आधीसरो अम्रिका, क्यानडा, नर्वे गए । हामी यता, कति उता । अझ पाकाहरू यताउता हैन जताबाट आएका त्यतै जाने भनेर अड्डी कस्नेहरू छन् !’
बिसमायाले घरअगिल्तिरको पारिजातको फूल हेरिरहिन् । भरर्र झरेका फूल बटुल्ने मन नि गरिनन् ।
भनिन्- ‘आफ्नाहरूपर–परको देश पुगिसके । बास्ना गएजस्तो ।’
मैले एकनासे झुप्राहरू हेरेँ- पिँढीभरि हातखुट्टा नचल्ने बूढाबूढीहरू पहार तापिरहेका थिए । आँखाले राम्ररी नठम्याउने वृद्धाहरू क्षितिजतिर परेली हुत्याइरहेथे ।
कुनै बेला बेलडाँगी गुल्जार थियो । शरणार्थी आवाजले विद्रोह र अधिकारको निम्ति आवाज मन्थन गथ्र्यो, स्वर बुलन्दी पाथ्र्यो । झुप्रा- झुप्रा भए पनि भुनभुन थियो मौरीको जस्तो । छाप्रा- छाप्रीको भए पनि झ्याउँ- झ्याउँ थियो झ्याउँकीरीको जस्तो ।
एकता र बलियो तागत थियो यो ।
यो एकजुट र गतिलो ऊर्जा थियो ।
‘छैनन् अचेल घरमा । कोही अष्ट्रेलिया, कोही जर्मनी, कोही इटाली पसे ।’
बमबहादुर गेलालले अचानोमा मासु काट्दै भने ।
‘म सकेसम्म उतै फर्कन्छु । भुटानको भूमि ।’
गेलालसँग सपनामा नेपाल आएन । कहिल्यै नि आएन । कत्ति पनि आएन । हो, उनी यता पसेको नि दुई दशकले फड्को नमारेको होइन । त्यै पनि भुटानको मोहले छोडेन अँगालो हाल्न । बाडुल्की छ त भोटाङकै छ, थिम्पुकै छ ।
मैले बेलडाँगीको बजार हेरेँ ।
कुनै समय त्यहाँ थरीथरीका नेपालीमा परीपरीका स्वाद र परिकारले घरजम गरेका हुन्थे । उल्काको बजार लाग्थ्यो- कदमका पोथ्रामुनि । त्यस बुट्यानले दिने छायाँ अनेक खालको थियो- माया ।
बाँसको बेरा छ- भित्ता, ढोका, छानो र बुइँगलमा । चित्रैचित्रामुनि कालो प्लास्टिकको छाप्रो छ । त्यही छाप्रोमुनि हिउँद- बर्खा सरक्क बेरिएर जान्थ्यो पर… पर… ।
अचेल बेलडाँगीमा फोन मात्र बज्छ किरर्र… किरर्र… ।
ती फोनमा सुनिन्छ रुवाइ, अपघात, वेदना र असह्यका हजार हिँक्का । उता जानेहरू पनि रोइरहेकै छन् । यता बस्नेहरू बर्बरी रुन छोडेका छैन । अझ भुटानै फर्कने छाती पनि ‘आफ्नो भुइँ’ को घोचाइले पिलपिलिन छोडेका छैनन् ।
भुटानीहरूले नरुनका निम्ति धेरै आँसु जय गाउँ छोड्दै झारेका थिए । शरणार्थीहरूले अब अरू भक्कानो नछुटाउनकै लागि मेची तर्दैगर्दा परेली बेस्सरी पुछेका थिए । तर त्यो कथा त्यत्तिकै रोकिएनछ । झन् बौलाएर दुःखहरू उत्रिए ।
बेलडाँगीमा अचेल पनि झुप्रोमा आगो सल्किरहेकै हुन्छ । केही फरक छ आगलागीको । दुःखबिराम उस्तै हो । रोगव्याधि उस्तै हो । नहुँदाभन्दा हुँदाको पीर बेग्लै ।
रमानाथ मिश्रले यसो नि भने पिँढीमै- ‘ऊ वेला केही नपाएर नेपाल पसियो । अनि थुप्रै हन्डरले धेरैथोक पाइयो पनि । तर अचेल क्यै नपा’को पिरलो पाकेको पाकेकै छ छातीमा ।’
‘डलर आउँछ नि बैङ्कमा । तर छोराछोरी पर… पर… पुगे । हामी छिन्नभिन्न भयौँ । यति वेला कति चकमन्न । कसरी सेल पकाउनु, कसरी देउसी खेल्नु !’
रमानाथका बोलीमा बेलडाँगी आउँछ सरक्क । उनका आवाजमा भुटानी जनमत उत्रिँदो रै’छ ।
त्यसो त संसार उदासीनतामा अरू भैँचालो नि थपिन छोड्दैन । महिना, साता वा छ महिनातिर यस्तो खबर नि आइरहन्छ- शिविरमा ।
‘क्यानडा जाने बिर्खे झुन्डियो रे !’
‘नर्वे पुग्ने श्रीनाथले पासो लायो रे !’
यस्ता धेरै ‘रे’ का सन्त्राशले बेलडाँगीका पिँढीमा अरू हावाहुन्डरी ल्याइरहँदो रहेछ । अनेकानेक भैँचालो मच्चाइरहँदो रहेछ ।
रित्ता पिँढीमा फेरि रित्तो हुन्छ मन । रित्ता आँगनमा फेरि चकमन्न हुन्छन् आँखा र छाती ।
‘तपाईं कता जाने अब ?’
मैले भर्खर बिहे गरेकी दुलहीलाई पानी भर्दै गरेको देखेँ धारामा । उनले भनिन्- ‘जर्मनी लैजान्छन् कि ?’
उनी नेपालै मूल घर भए पनि बिहेको मेसोमा उताको आशमा रै’छिन् । यस्तो मेसो र आशले बेलडाँगी पर्खिरहेको छ आजभोलि । रित्ता पिँढीमा यस खालको छ सुनसान ।
बेलडाँगीका झुप्रा पुर्रिई छोपिन थालेछन्- वनमारा घाँस र बुट्यानले । ती घाँस झन् नौला छन्, फरक छन् र भिन्न छन् ।
शरणार्थीको कुन पुस्ताले पढ्ला यो रित्तो इतिहास !


(नयाँघरे स्थापित निबन्धकार हुन् ।)
[email protected]