• २०८१ श्रावाण ४ शुक्रबार

‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक

काठमाडौं ।

कर्णाली प्रदेशको जनजीवनमा आधारित म्युजिकल सिनेमा ‘हिरुलाल ः द सोल अफ कर्णाली’ सार्वजनिक भएको छ । जुम्लामा विभिन्न स्थानमा छायांकन गरिएको सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण गरिएको छ । यो म्युजिकल सिनेमाले आर्थिक र अन्य अवसरका लागि विदेशिन बाध्य स्थानीयको पीडालाई कथामा ढालिएको छ । त्यसका साथै कर्णाली र सुदूरपश्चिमबासी कसरी सडक र संचार सुविधाबाट वञ्चित छन्, भन्ने कुरालाई पनि नजिकबाट नियाल्ने अवसर दिएको छ ।

यो म्युजिक सिनेमालाई सञ्चारकर्मी रतन देवकोटाले निर्देशन गरेका हुन् । ‘आफ्नो पहिलो डेब्यु निर्देशकीय म्युजिक सिनेमामा आफ्नो गृह प्रदेशको कथा व्यथा प्रस्तुत गर्नु पर्छ भन्ने भएपछि एउटा जुझारु टिम बनाएर यो कथा भन्ने आँट गरेको हुँ,’ उनले भने । यो गीतको म्युजिक कम्पोज चक्र बलमे गरेका छन् । उनी यो म्युजिकल सिनेमाका एसिस्टेन्ट निर्देशक तथा गायक पनि हुन् । उनलाई यो गीत गायनमा रचना रिमालले साथ दिएकी छन् । गीतमा समावेश ठाडी भाकामा बरिष्ठ देउडा गायिका डिक्रा देवी बादीले स्वर भरेकी छन् । यस गीतका संगीत निर्माता कोविद बज्र हुन् ।

सौरभ लामिछानेको छायांकन रहेको भिडियोमा ‘प्रकाश’ अभिनेत्री रेनु नाथ योगी, बालकलाकार संजय परियार र गायक चक्र बलमे अभिनय गरेका छन् । अभिनेत्री योगीले ‘प्रकाश’ पश्चात पुनः जुम्लाकी स्थानीय महिलाको भुमिका निर्वाह गरेकी छन् । जो परदेशीयका श्रीमानको प्रतिक्षामा छिन् । यो गीतको कथा, क्रियटिभ निर्देशक तथा प्रोडक्सन डिजाइनर गोविन्द सुनार हुन् । बरिष्ठ पत्रकार टिकाराम यात्रीले सञ्चालन गरेको कार्यक्रममा जुम्लाका सांसद तथा राप्रपा नेता ज्ञानेन्द्र शाही प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।