पुराना कुरा

हल्लासन र नाङ्गा पर्वतका चुचुरा हेर्दै
याङ्ग गुम–ही
जब हामी आमाको काखबाट बाहिर निस्कन्छौँ
र संसारमा पाइला टेक्छौँ
हामीलाई महसुस हुन्छ कि जीवन त खोलबाट निस्कनु रहेछ ।
जब हामीले नयाँ संसारको ताजगीको स्वाद लिन्छौँ
हामी हुर्कन्छौँ पहाडहरूलाई हेर्दै संसारको उचाइ महसुस गरेर ।
जुनसुकै पहाड होस्
हामी यसको शिखरतिर एक–एक पाइला चाल्छौँ
पार गर्दै जस्तोसुकै अवरोधहरू र लिन्छौँ नयाँ जन्म ।
हामीले निराशा, घाउ, उदासी र पीडाको सामना गरे पनि,
हामी फेरि उठ्छौँ र खोज्छौँ जीवनको आनन्द
पत्ता लगाउँदै नयाँ जीवनको सत्य ।
जब म हल्ला पहाडलाई हेर्छु,
र तिमी नाङ्गा पर्वतलाई हेर्छौ
हामी एकअर्कालाई नयाँ जीवनको लागि सद्बुद्धि दिन्छौँ
देखाउँदै एकअर्कालाई प्रगतिको लागि ठूलो सम्भावना ।
एकअर्कालाई प्रोत्साहन गर्दै,
हामी आफ्ना खोलहरूबाट बाहिर निस्कन्छौँ र बढ्छौँ ।
जीवन त निरन्तर नयाँ खोलबाट बाहिर निस्कनु हो
पाउँछौँ आनन्द र आत्मविश्वास
जब हामी नयाँ संसारमा आँखा खोल्छौँ ।
हामी एकअर्काप्रति मित्रताको फूल फुलाउँछौँ
बढ्छौँ, अनन्त रूपमा खोज्दै जीवनमा नयाँ सम्भावनाहरू ।
पहाडलाई हेर्दै फेरि जन्मिनुको अर्थ
हामी भित्रको आफूलाई पत्ता लगाउनु हो
र बढ्नु हो पार गर्दै जीवनका सबै कठिनाइहरू ।
हावाको सौन्दर्यशास्त्र
याङ्ग गुम–ही
घामको न्यानो हाँसो गुञ्जिन्छ
महसुस गर्न सकिन्छ वर्षाका थोपाहरूको कोमल स्पर्श पनि ।
धेरै दिनदेखि नसुतेको हावा
जहाँ बाटो छैन त्यतै बाटो खोज्छ र त्यसलाई साथमा लिएर जान्छ ।
अप्रत्याशित इशाराहरू गर्दै
नाघेर पर्खाललाई आउँछ फूलहरूको सुगन्ध ।
जब तिनीहरू फुल्छन् र दरारहरूलाई हावाले भर्छन्
तब बोकेर जान्छ हावाले फूलहरूको मुस्कान ।
जुनिपर रुखको गोलो कम्मर वरिपरि
हावा सुगन्धित नै रहन्छ ।
भाँडोमा राखिएको सल्लाको पातमा
बोकेर ल्याउँछ हावाले सल्लाको सुगन्ध ।
एउटा मान्छेले बगैँचाको हेरचाह गर्छ
जसले यसलाई हुर्काउँछ
आउँछ त्यो हावा प्रकृति आमाबाट ।
अनुवादः चन्द्र गुरुङ
याङ्ग गुम–ही