• २०८१ माघ २ बुधबार

शिव-सावित्री स्मृति सम्मान संस्मरणकार अप्सरा पुडासैनीलाई

शिव–सावित्री प्रतिष्ठान नेपाल र बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको संयुक्त आयोजनामा महाकवि देवकोटाको ११५औँ जयन्तीका अवसरमा जनज्योति मावि चन्द्रनिगाहपुरमा सम्मान अर्पण लगायतका कार्यक्रमहरू संपन्न गरिएको छह। उक्त कार्यक्रममा बर्सेनि प्रदान गरिने नगद रु.११,१११/–सहित शिव–सावित्री स्मृति सम्मान–२०८० संस्मरणकार अप्सरा पुडासैनीलाई अर्पण गरिएको थियो ।

सोही अवसरमा ‘हजुरबुबा’ शीर्षकमा विद्यालयस्तरीय कविता प्रतियोगितासमेत सम्पन्न भएको छ । सो प्रतियोगितामा जनप्रिय मावि हरिनगर मैढाका अजय माझी, नमुना अङ्ग्रेजी मावि चन्द्रपुरका प्रशान्त रिमाल तथा मुनलाइट एकेडेमी चन्द्रपुरकी श्रद्धा कोइराला उत्कृष्ट भएका छन् ।

यस अवसरमा मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा बाराका साथै वाग्मती प्रदेशको मकवानपुर एवम् सुदूर पश्चिम प्रदेशको बैतडी जिल्लाका स्रष्टाको समेत सहभागिता रहेको थियो । सहभागीहरू सञ्जय मित्र, लीलाराज दाहाल, रामचन्द्र पौडेल, रामचन्द्र कुशवाहा, जनार्दन खनाल, लालबाबु शर्मा, घनश्याम पन्त, प्रेम घिमिरे, कुमार कुुसुम दाहाल, लक्ष्मण आचार्य, तेजविक्रम कार्की, लक्ष्मण खनाल, धनदेव जोशी, नारद काफ्ले, लक्ष्मण पौडेल आदिले कविता, गजल, मुक्तक तथा लघुकथा सुनाउनुभएको थियो । यसै गरी शिवचन्द्र शाह, शङ्कर भट्टराई, नरेन्द्र चौधरी, कृष्णप्रसाद दाहाललगायतले मन्तव्यका साथै गरिमामय उपस्थिति जनाउनु भएको   थियो ।

सम्मानित व्यक्तित्व अप्सरा पुडासैनीका बारेमा शिव–सावित्री प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्ष रमेशमोहन अधिकारीले बोल्नुभएको सो कार्यक्रमको सञ्चालन कवि राम उदितले गर्नुभएको थियो । यसै गरी स्वागत बुढ्यौली साहित्य समाजका सचिव किसुनदयाल यादवले र सभाध्यक्षता अध्यक्ष लम्बोदर काफ्लेले गर्नुभएको थियो । यस कार्यक्रमको प्रमुख आतिथ्य साहित्यिक तथा सांस्कृतिक व्यक्तित्व पार्थमणि भट्टराईले गर्नुभएको थियो ।