वसन्तवेला

अपेक्षा कोठाभरी कपडा फिँजाएर फराक फुरुक गर्दैछे !! टिकाको दिन यो लाउँछु, काकाकोमा जाँदा यो लाउँछु, मावला जाँदा यो लाउँछु… प्रत्येक दिन लगाउने ड्रेसप मिलाइराछे ऊ । पुजाकोठामा हरिकृष्ण चन्डीपाठ पढिरहेको छ । नीरा पल्लो कोठामा छट्पटिमा छे । लौन बेथा लागेछ सबैजना आत्तिन्छ्न् । अस्पताल पुर्याए पछि बच्चा जन्मिन्छ । “अब तिहारमा टीका लाउन मेरो पनि भाइ भयो “अपेक्षाको खुसी चुलिन थाल्छ । नर्मल डेलिभरी भएको हुनाले भोलि पल्टनै नीरा र बच्चा डिस्चार्ज हुन्छ्न् । अब पुजा कोठामा चन्डीपाठ हुँदैन, बत्ती बल्दैन, शंख अनि घण्टा बज्दैन, धुप बसाउँदैन …सुनसान छ दशैँघर शोकमा डुबे जस्तै ।
“बाबा आज किन पुजा नगर्नुभएको ? “अपेक्षाले सोध्छे । “अब पुजा गर्न, टीका लाउन सबै थुनीयो छोरी, हाम्रो घरमा सुतक पर्यो, अब शुभकाम केही गर्नु हुँदैन ।“
हरिकृष्णको कुरा सुनेर नीरा अचम्म मान्छे अनि जिज्ञासा व्यक्त गर्छे “कसरी यस्तो हुन्छ !! मैले त हाम्रो घरमा सन्तान जन्माएर नयाँ सृजना पो गरेकि हुँ, सृजनामा त उत्सव पो मनाउनु पर्ने होइन र !! यो कस्तो नियम हो घरको एउटा सदस्य, देशको एउटा नागरिक निस्किँदा चाड थुनिन्छ, खुसीयाली थुनिन्छ !! हर्ष थुनिन्छ !! सृष्टि गर्नु कुनै अपराध हो र !!! किन छुनु हुँदैन सृष्टिकर्तालाई सुत्केरी बेला !! सुतक भनेको जुठो हो भन्ने प्रमाण के हो !!! प्लिज बताउनुहोस न मलाई, प्रमाण के हो ??“
हरिकृष्ण नाजवाफ टोलाइरहेको छ । कोठा भरी असरल्ल छ्न अपेक्षाका दशैँका उत्साहहरू !!
रेणुका शोलु