झुपडीमा लिउन सँगसँगै
आएको छ दशैँ
कसैका घरमा रक्सी र मासु बनेर
भित्रिएको छ दशैँ
कतै राम्रा नाना र मिठो खाना
बनेर आएको छ दशैँ
के दशैँ मासु र नाना मात्र हो र ?
सत्ताका मैदानमा पछारिएका
उडिरहेका चङ्गा छन्
नानीहरू चुँडिएका सपनामा
चङ्गा चेट चेट भन्दै छन्
के कसैका लागि दशैँ
चङ्गा चेट भएकै हो र ?
एक हुल बर्दीहरू
दशैँका खोजीमा सडकमा
बल्छी थापेर बसेका छन्
कतै पासो छ
र कतै ‘पासा’हरू छन्
के दशैँ
बल्छी र पासो मात्र हो र ?
मानव नै त हो बनेको
खसी, बोका र पशु पन्छी
कतिका घरमा उत्सव
या कतिको काल बनेर
के साँच्चै दशैँ आएकै हो र ?
के दशैँ मासु र नाना मात्र हो र ?
के दशैँ चङ्गा चेट भएकै हो र ?
के दशैँ बल्छी र पाशो मात्र हो र ?
के दशैँ साँच्चै आएकै हो र ?
जानु धिताल, भैंसेपाटी, ललितपुर
[email protected]