• २०८१ श्रावाण ११ शुक्रबार

अनुराधा ढकालको मुक्तकसंङ्ग्रह ‘आरब्ध’लोकार्पण

काठमाडौं, नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा नेपाल मुक्तक प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा अनुराधा ढकालको मुक्तक सङ्ग्रह आरब्धको लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले अनुराधाका मुक्तकहरूका बारेमा बोल्दै मुक्तकहरू चोटिला र गम्भीर रहेको बताए ।

नेपालमुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा समालोचक प्रा.डा. भागवत ढकालले लोकार्पित कृतिको समीक्षा गर्नुभएको थियो । डा. ढकालले सङ्ग्रहका मुक्तकहरू गहकिला भएको बताउँदै मुक्तकहरू विविध विषय र स्वादका रहेको बताउनु भयो ।प्रतिष्ठानका सल्लाहकार तथा समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले पहिलो कृतिमा नै सशक्त र अधिकांश अब्बल मुक्तक प्रकाशित हुनु प्रशंसनीय छ र अनुराधा ढकालको पहिलो कृतिले नै उनी प्रतिभा सम्पन्न स्रष्टा हुन्भन्ने सङ्केत गरेको छ भन्ने कुरा व्यक्त गरे । समारोहमा प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकीले स्वागत मन्तव्य र सदस्य राधेश्याम लेकालीले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिष्ठानका सल्लाहकार ज्ञानुवाकर पौडेल, त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत अनुराधाका दाजु मुक्तराज ढकाल लगायतले अनुराधा ढकालको प्रतिभाको प्रशंसा गरेका थिए । कार्यक्रममा आरब्ध की लेखक अनुराधा ढकालले सानैमा बुवा नन्दलाल ढकाल र आमा लक्ष्मी ढकालको प्रेरणा र प्रभावबाट आफू सिर्जनातर्फ आकर्षित भएको बताउँदै पन्ध्र वर्षको भैरहवा बसाइले साहित्यमा अघि बढ्न थप प्रेरणा प्रदान गरेको बताइन ।कार्यक्रम सञ्चालन प्रतिष्ठानका महासचिव यादव भट्टराईले गरेका थिए । उक्त सङ्ग्रहमा ४०९ मुक्तकहरू समावेश छन् । सो समारोहमा कृतिकारकी आमा लक्ष्मी ढकाल, कृतिकार कार्यरत संस्था सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशी लगायतको उपस्थिति रहेको थियो ।