युवाहरूको पाखुरा बेच्नमै मख्ख छ सरकार
भ्रष्टहरूको मुस्कान हेर्नमै मस्त छ सरकार
गरीबलाई महङ्गीको भारले थिचेको नदेख्ने
कसरी सत्ता टिकाउने भन्नेमै व्यस्त छ सरकार !
धेरै भेटिन्छन् आफूले आफैलाई ढाँट्नेहरू
धेरै देखिन्छन् कुराले झूठको डोरी बाट्नेहरू
सोझासाझाहरू भने सधैँ जिल्लिएकै छन्
मारमा पर्छन् चामलसँग पिठो साट्नेहरू ।
मायालुको आगमनमा फक्रिदिउन् फूलहरू
मायालुको आगमनमा चम्किदिउन् जूनहरू
हृदयको आकासमा गीतहरु बजेपछि
मायालुको आगमनमा घन्किदिउन् धूनहरू ।
जनताको नाम लिई ठग्नेहरू कति कति
देवताको नाम लिई ठग्नेहरू कति कति
ठग्ने धेरै माध्यम रहेछन् ठगहरूलाई
वीरताको नाम लिई ठग्नेहरू कति कति ।
दिव्य गिरी