खै किन हो
हिजोआज म
मान्छे र छायाँ उस्तै देख्छु
मान्छेको भन्दा
छायाँको कथा धेरै लेख्छु
मलाई त
मान्छे भन्दा
छायाँ इमानदार लाग्छ
मान्छेले भन्दा
छायाँले बोलेको दमदार लाग्छ
जीवन घाम हो
छायाँ पनि हो
जीवन रेखा हो
धर्का पनि हो
जीवन दुःख, पीर र मर्का पनि हो
मान्छे यही बुझ्दैन आजकल
त्यही भएर होला मान्छे मान्छेसँग बोल्दैन
दया, सुख र मायाका
रूमाल र थैली पनि खोल्दैन !
बन्द मनलाई खुलाउन
लेखेर पठाएँ एउटा पत्र
पानीकागजमा पसिनाको मसीले
मान्छे केही बोलेन
बरू छायाँले
मतिर हेर्यो र सुस्तरी भन्यो–
‘मलाई पनि एउटा लेख न
म पनि त यहीँ छु
मलाई पनि कहिलेकाहीँ त देख न !’
मन लागेन
छायाँको मन दुखाउन
र लेख्दैछु उसलाई पनि
एउटा पत्र
टाँकीको पातमा
कटुसको काँडाले
तर सोचिरा’छु–
काँडाले पनि
मायालु अक्षर लेख्छ र ?
छायाँले पनि
मायाका अक्षर बुझ्छ र ?
छायाँ भन्छ–
‘पठायौ भने मलाई पत्र
मान्छेले नदेख्ने गरी पठाउनू
बनायौ भने मलाई मित्र
मान्छेले थाहा नपाउने गरी बनाउनू !
मान्छेले छायाँको रङ मात्र हेर्छ
र कालो भन्छ
मेरो छायाँ बनेन भने
म पनि त उज्यालोमा छैन
भन्न पनि गाह्रो मान्छ
बुझ्नु नि मान्छेले
छायाँ त
रातो गुलाफको पनि कालै हुन्छ
उज्यालोमा हुँदा मात्रै
उसको र अरूको पनि छायाँ बन्छ’
कस्तो हैरानी
किन अचेल मान्छेभन्दा धेरै
छायाँ बोल्छ ?
किन मान्छेले भन्दा धेरै
छायाँले बुझ्छ ?
आफैँलाई सोधिरा’छु–
मान्छे नहुँदा पनि
छायाँ हुन्छ र ?
मन नै नभए पनि
माया हुन्छ र ?
छायाँसँग त मन हुँदैन
र पनि मलाई
छायाँ नै मन पर्छ
मान्छे पनि त
डुलुवा छायाँ नै त हो नि !
०
………………………..
(कट्टेल कविता र कथा विधामा निन्तर कलम चलाउँदै आएका स्रष्टा हुन् ।)