अनुवाद–लघुकथा

धरहराबाट हेर्दा
देश देखिन्छ कि देखिंदैन
तर काठमाडौँ अवश्य देखिन्छ ।
साच्चै त्यही हो काठमाडौँ
निथ्रुक्क भिजेको
बिलाप गर्दै रोइरहे जस्तो
ख्याउटे कुरुप जस्तो
रुग्ण,दरिद्र मानसिकता बोकेको
तर होइन होला ।
सधै जसो
धरहराबाट संङ्लो देखिने
नगरकोटो
कुहिरोले ढाकिएको छ
रत्नपार्क पनि सफा कहाँ छ ररु
स्वच्छ, सफा, हराभरा
काठमाडौँको राग अलापे पनि
मनमैलो छ ।
झ्यालबाट चियाउँदा
देखिने काठमाडौँ भन्दा
भिन्नै देखिन्छ धरहराबाट
धुवाँ, धुलोले बिषाक्त भएको छ ।
झ्यालबाट देखिने धुवाँ
विश्वासको प्रतीक थियो
त्यहीबाट देखिने लावालस्कर
एकताका संकेत मानिन्थे
त्यतिबेलाका स्वरमा
कटुवालको हार्दिक आह्वान थियो
तर अहिले त्यस्तो होइन ।
चिल्ला सडक देखिएपनि
प्रस्निग्ध बनाउन खोजेपनि
स्निग्ध मन छैन ।
ठाटिलो,रवाफिलो
उच्च जीवनस्तर देखिए पनि
मनमा खोट, कालो देखिन्छ ।
काठमाडौँ काठमाडौँ जस्तो देखिएन
मान्छे मान्छे जस्ता देखिएनन्
जे नदेखिनु पर्ने त्यही देखिन्छ
धरहराबाट ।
लाग्थ्यो धरहराबाट
चुस्तदुरुस्त,साङ्गोपाङ्ग
सफा, स्निग्ध देश देख्न पाइन्छ
तर होइन रैछ ।
माथिमाथि धरहराको टुप्पोबाट हेर्ने
दुरविन नक्कली रहेछन्
धरहरा भित्र छिर्दाको सम्मोहनले
दृष्टि भ्रम गराउने रहेछ
देखाउन खोजेको मात्र देखाउँछ
नाटकका लागि गरिएको
मेकअप र सजावट जस्तो ।
धरहराको देश भयो
देशको धरोहर भएन
देशको धरहरा भएन।
साच्चिकै
गहिरिएर हेर्यो भने
मगन्तेको भीड देखिनु पर्ने
कुरुप काठमाडौँ देखिनु पर्ने
विसंगति ,विकृती देखिनु पर्ने
लुटिदै गरेको अस्मिता देखिनु पर्ने
आँखा छोपी गरिएको भ्रष्टाचार देखिनु पर्ने ।
समृद्धि हेर्न बनाइएको धरहराबाट
समृद्धि देखिएला तर
देश देखिंदैन ।
धरहराबाट देखिने मात्र देश होइन
त्यो भन्दा पर पनि देश छ ।
धरहराको दुरविनले हर्न नमिल्ने
धरहराको दुरभाषको आवज नपुग्ने
धरहराको आकाशवाणीले काम नगर्ने
धरहरा चिन्न नसकेको देश
सुन्दर, शान्त र विशाल छ
सफा, स्निग्ध छ ।
देश हेर्ने धरहराको
मन सफा हुन्थ्यो भने
छलकपट रहित हुन्थ्यो भने
द्वेष, रागबाट मुक्त हुन्थ्यो भने
आग्रह, पुर्वाग्रह भन्दा माथि हुन्थ्यो भने
धरहराको देश हुन्थ्यो
देशको धरहरा हुन्थ्यो ।
धरहराले त
हात्ती र हात्तीछाप
उस्तै उस्तै देख्छ ।
कैलासकुमार पाण्डेय
परशुराम ३ थपला, डडेल्धुरा