• २०८२ भाद्र २८, शनिबार

पोखरामा ‘पर्या कविता गोष्ठी’ सम्पन्न

पोखरा ।

पोखराको जेठो साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारले विश्व वातावरण दिवसका अवसरमा ‘पर्या कविता गोष्ठी ‘ कार्यक्रम विन्ध्यवासिनी मन्दिरको सचिवालयमा सम्पन्न गरेको छ । प्रत्येक वर्षको जुन ५ मा मनाइँदै आएको वातावरण दिवसको यसपटकको नारा ‘प्लास्टिक प्रदूषण अन्त्य गरौं’ भन्ने थियो ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यकार सरुभक्तले ‘पोखरेली युवा सांस्कृतिक परिवारले पर्यावरण केन्द्रित काव्य गोष्ठी पहिलो पटक गरेको र यस कार्यक्रमलाई हरेक वर्ष निरन्तर रुपमा गर्न आवश्यक भएको’ बताउँदै ‘ वैदिक कालदेखि नै पूर्वीय वाङ्मयमा वातावरणसंग सम्बन्धित काव्य रचना गरिंदै आए पनि पर्यावरण साहित्य भनें नयाँ शब्दावलीको रुपमा पछिल्लो समयमा आएको हो । वैदिक साहित्यमा भूमि, जल,पृथ्वी, वन, आकाशजस्ता तत्वहरुको अर्चना गर्ने खालका साहित्यको सिर्जना गरिएको छ । लामै समयदेखि साहित्यकारहरुले नदी, हिमाल, वातावरणमाथि साहित्य सिर्जना गर्दै आए पनि ती सबै पर्या साहित्य नहुन सक्छन् । जुन साहित्यले वातावरण विनाशलाई सम्बोधन गरिएको हुन्छ, त्यही साहित्य पर्या साहित्य भएको बताउनुभयो ।

विशेष आमन्त्रित व्यक्तित्व कवि तीर्थ श्रेष्ठले बाघ शिर्षकको आफ्नो पर्या कविता सुनाउँनुभयो । साथै प्रकाश ज्ञवाली, शिव त्रिपाठी, अल्पविराम पोखरेली, चन्द्रावती वाग्ले, अमृत क्षेत्री, विष्णु बास्तोला, छविलाल आचार्य, वसन्त चालिसे, रोशन तिमिल्सिना, कल्याण पन्त, गीता त्रिपाठी, ढाकामोहन बराल, विश्वराज रसाइली र समीप वैरागीले पर्या कविता वाचन गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य शिव त्रिपाठीले स्वागत गर्नुभएको थियो भने सचिव एमडी काफ्लेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।