१) भावनात्मक दृष्टिकोण
गर्भाशय
आमाको मौन प्रार्थनाले बनेको
एक अदृश्य मन्दिर,
जहाँ प्रत्येक दिन
उसले आफूभित्र एउटा ब्रह्माण्ड बोकेकी हुन्छ ।
ऊ थाक्छे,
तर मुस्कान फेर्दै भन्छे
सबै ठीक छ,
किनकि ऊभित्र
कोही सानो मान्छे
कुनै कारण बिना
उसको खुशीमा भरोसा गर्दै
बढिरहेछ ।
बिहानको वाकवाकी
उ उसको काब्य हो,
रातीको निद्रा नआउनु
उ उसको संगीत ।
उसका हात पेटमाथि राख्दा
उ बच्चाले महसुस गरेको
पहिलो ‘घर’
उस्तै न्यानो हुन्छ
जस्तो चिसो हावामा
अगेनाको छेउ ।
गर्भाशय
न त केवल अंग,
न त केवल प्रक्रियाको नाम
यो एउटा यस्तो कक्ष हो
जहाँ आँसु र खुसी बराबर तौलिइन्छन्
र दुवै
एकै श्वासमा बग्छन्
कोही मातृत्वलाई चिच्याएर बोल्दैन
तर गर्भाशय
हरेक दिन
एक मौन कविता बोलिरहन्छ
तिमी सुरक्षित छौ,
म यहाँ छु ।
२) सामाजिक दृष्टिकोण
गर्भाशय
समाजले अक्सर बिर्सिएको
तर सबै सभ्यताको
आधारशिला ।
यहाँ जीवन सुरु हुन्छ,
तर समाजमा कहिलेकाहीँ
यही जीवन दिने शरीरलाई
सम्मान मिल्दैन ।
कसैलाई
मातृत्व नै नचाहिए पनि
समाजले प्रश्न गर्छ
कहिले आमा बन्ने ?
जस्तो गर्भाशय
कुनै सार्वजनिक सम्पत्ति हो ।
यदाकदा,
उही गर्भाशयलाई
दोषारोपण गरिन्छ
सन्तान नजन्माएको,
ढिलो जन्माएको,
छिटो जन्माएको,
केटा नजन्माएको
जस्तो प्रकृतिको
सारा गणित
उसैको हातमा भएको हो
गर्भाशय
शक्तिको स्रोत हो,
तर कहिलेकाहीँ
शोषणको लक्ष्य पनि
किनकि
जीवन बोकेर हिँड्ने यो कोठा
मानिसहरूले
आफ्नो स्वार्थ अनुसार
कहिले पवित्र,
कहिले अपवित्र बनाइदिन्छन् ।
तर सत्य के हो भने
गर्भाशय
अब केवल मातृत्व चिनारीको
एक मात्र मापदण्ड होइन
यो स्वामित्वको प्रतीक हो
मेरो शरीर मेरो अधिकार
भनेर घोषणा गर्ने
अधिकारको मेरुदण्ड ।
जब समाज
गर्भाशयलाई सम्मान दिन्छ,
त्यही दिन
मानवता
थोरै ठूलो बन्छ ।
३) जैविक दृष्टिकोण
गर्भाशय
केवल कविता होइन,
एक अद्भुत प्रयोगशाला पनि हो
जहाँ प्रकृतिले
अविरत अनुसन्धान गर्छ ।
यो तिन तहको भित्ताले बनेको
एक गतिशील संसार हो
एन्डोमेट्रियम,
मायोमेट्रियम,
पेरीमेट्रियम
हरेकले आफ्नै भाषा बोल्छन्
तर एउटै लक्ष्य
जीवन ।
एन्डोमेट्रियम
हरेक महिनाको मौसम जस्तै,
कहिले फूल्ने,
कहिले ओझेल पर्ने
यो बीउ बसोबास गर्ने
सबैभन्दा न्यानो ओछ्यान हो ।
७ से.मी. जति लामो,
टरिफ–भरिफ नदेखिने
तर प्रसूति समयमा
१० से.मी.सम्म फैलिन सक्ने
मायोमेट्रियमको शक्ति
कुनै पर्वतको धैर्यभन्दा कम छैन ।
गर्भाशय
नाल मार्फत
रक्त, अक्सिजन र पोषण पठाउँछ,
एउटा
सजग नदी
नयाँ बनिरहेको गाउँतिर बगिरहेजस्तै ।
पहिलो धड्कन
५–६ हप्तामा टिमटिमाउँछ,
जसको ताल
गर्भाशयको न्यानोपनले
राख्दै–बढाउँदै
सुरक्षित बनाउँछ ।
जैविक रूपमा हेर्दा
गर्भाशय
एक उत्कृष्ट बायोलोजिकल इन्क्युबेटर हो,
तर कवितामा
यो जीवनको पहिलो घर हो ।
समग्र सार
गर्भाशय-
भावनामा
न्यानोपन, आँसु, धैर्य र प्रेमस
समाजमा
अधिकार, सम्मान र संघर्ष
जैविकतामा
चमत्कार, संरचना र सम्भावना ।
तीनै कोणबीच
यो एक यस्तो स्थान हो
जहाँ ब्रह्माण्डले
सबैभन्दा ठूलो कला अभ्यास गर्छ
जीवन सिर्जना ।
२०८२/०८/१८ गैंडाकोट–२, नवलपरासी