आँसुले भिजेको मरुभूमि - Aksharang
  • २०७८ असोज १२ मङ्गलबार

आँसुले भिजेको मरुभूमि

सोझो गाउँले

सोझो गाउँले

आमाको मायाजस्तो घाम उतै छ
बाबाको छायाँजस्तो जून उतै छ
प्रेयसीको स्पर्शजस्तो हावा
र बहिनीले बनाएको सर्बतजस्तो पानी उतै छ
सम्झनाको तरेलीमा अल्झिएको
केवल एक मुठी सास छ मसँग यहाँ

खल्तीको घाउ दुखेर खपिनसक्नु भएपछि
हजुरबाको हस्तिहाड बन्धकी राखेर
आँसु लुकाउँदै अरब आएको हुँ
आगो पठाउन अगेनोमा
भोकको भूकम्पले हल्लाएपछि घरको जग
पूरै जिन्दगी दाउमा लगाएर
कलिलो उमेरमा गाण्डीव उठाएको हुँ
प्राण बचाउन परिवारको

जीवनको जङ्गलमा सपनाका सुसेलीहरू हाल्दै
आफ्नै आँगनमा वसन्त बोलाएर
बैँसको गीत गाउनुपर्ने वेला
बिरानो बस्तीमा आएर आँसु बगाइरहेको छु
समयको सागरमा सम्भावनाको डुङ्गा खियाउँदै
विश्वविद्यालयका उज्याला भित्ताहरूमा
सुन्दर भविष्य सजाउनुपर्ने वेला
तातो बालुवामा छाती धसिरहेको छु

बाँझो पल्टाइरहेको गोरुले
निर्दयी हलीको चुटाइ खाएझैँ
अर्बबको लागातारको लात सहनुपर्दा
सुरुसुरुमा– अमरसिंहको आत्माले
आफूलाई धिक्कारेजस्तो लाग्दथ्यो
उँटहरूको बथानमा वर्षौं बिताउँदा
कतिवेला आफैँ उँट भइसकेछु
अब त यातनाहरू मेरा लागि
घोडालाई कोर्रा सरह भएका छन्

अदक्ष डाक्टरहरूको असफल उपचारद्वारा
भेन्टिलेटरमा पु-याइएको देशलाई
आवश्यक अक्सिजन जुटाउन
पचास डिग्री सेन्टिग्रेडमा म
मरुभूमिमा परेड खेलिरहेछु
हरेक वर्ष बर्खा लागेपछि
सपनाको खेती गर्ने सरकार
रगतसँग साँटेको रेमिट्यान्समा
-याल चुहाइरहेछ… ।

थलारा, बझाङ
………………………………..
(गाउँले चर्चित कवि हुन्)
sojho.gaunle@gmail.com