आगोको तापमा उम्लिएको चिया जस्तै
भकभकी उमाल्छु मेरो दुःखी मन,
लिटरका लिटर लोकल तीनपाने
संग संगै
रित्याउछु मेरो बैंसालु यौवन ।
शरीर र लाज
एउटै भाडोमा पकाईदिन्छु
ताल परे
आफ्नो ’श्री’ नै बेचिदिन्छु ।
यात्रीहरू आउछन्
खाली थाल थाप्छन्
उनीहरूकै लागि पकाएर
थमथिलो पारेको शरीर पस्किदिन्छु,
रित्तो गिलास थाप्छन्
शरीरसंगै पकाएको
लाज पिलाएर प्यास मेटाइदिन्छु
कर्म यस्तै गर्दै छु-
कहिले
विदीर्ण मनको
सहारामा
पाउनाको हातको मुठीमा
खेलौना बनेर कब्जा भइदिन्छु
त
कहिले
जिर्ण तनको
सारथी भएर
फिक्स्ड प्राइजमा
आफैँलाई बेचिदिन्छु ।
म यता आफूले आफूलाई नै बच्दै छु,
उता
जिल्ला प्रशाशन कार्यालय बाढ्दै छ नागरिकता
र भन्दै छ –
त होस् नेपाली छोरी
यो देशको चेली
सुन्दा यस्तो–
अचम्म मान्छु,
गहबाट बहका बाढी ल्याइदिन्छु
फेरी पनी
पेट पाल्नै पर्ने रहेछ भन्ठान्छु
आफ्नो शरीर बेच्न तम्सिन्छु,
हिजो कोहि कसैले
कोठीमा बेचिदिएको थियो मलाई,
आज स्वयम् म आफैँ
आफैँलाई बेचिरहेछु–
भट्टी कोठामा,
माइकबाट बनिरहेछु,
मेरो जात छैन
धर्म छैन
देश छैन
कुनै एक पुरूष त छैन
अनी कसरी हुन्छु म –
नेपाली छोरी
अनी
यो देशको चेली ??
तर मान्दैन मेरा यी कुरा प्रशासन
र
उ पनि भनिरहन्छः
तँ होस्
नेपाली छोरी
अनी
यो देशको चेली
तर प्रमाणित गर्न सक्दैन
प्रिय प्रसाशन !
बनाउन मन छ मलाई यो देशको चेली
त्यसो भए,
बन्द गराइदेऊ-
आखाबाट बगेका कोशीका अशान्त छालहरू
रिहा गराइदेऊ-
झ्यालखाना भित्र पसेका बेचैन लहरहरू
अनी
बन्द गरिदेऊ-
मलाई डाम्ने ठालुका गोलभेडा जत्रा आँखालाई
यो सब गर्नको लागि
दिलाइदेउ मलाई रोजगारी
अनी
गरिदेउ मलाई मुक्त
यो देहव्यापारको संसारबाट ।
सक्दैनौ नि पुरा गर्न मेरा माग,
त्यसैले
मैले भट्टी चलाइरहेछु
अनी
पाउनासँगको कर्म गरिरहेछु ।
आयुष बडाल
[email protected]