२०२८ सालमा
काभ्रेको नालामा जन्मिएँ
पैँतालीस मिनटको बाटो हिँडेर
स्कूल जाने गरेको अस्ति जस्तो लाग्छ
पाँच कक्षापछि चाहिँ
पढ्न भनेर बनेपा बसेँ
आर आरबाट आइ. ए. पास गरेँ
बि. ए. चाहिँ प्राइभेटबाट गरेँ ।
स्कुलमा छँदा राविसेले पढाउन आए
उषा मेमले नाटक पढाउँदा
हामीलाई खेल्न लगाएर पढाउनु हुन्थ्यो
दस/बाह्रवटा नाटक त्यही वेला गरियो
पछि बनेपा आएर पनि
त्यो क्रम जारी नै रह्यो
आफैँ नाटक लेख्ने गर्न थालियो
यही क्रममा गीत पनि गाउँथेँ
आठ क्लासमा हुँदा रेडियो नेपालको
चौतारी कार्यक्रममा पुगेँ
पहिलोचोटि त बडो मुस्किलले छिरेँ
पछि चिनजान भएपछि त
महिनाको एकचोटि जसो
गीत गाउन म रेडियो नेपाल पुग्थेँ ।
त्यहीँ एकजना बाँसुरीवादकसँग दोस्ती भो
तिनले मैले त्यो वेला लेखेका
दुईवटा गीत कम्पोज गरेर रेकर्ड गराए
मैले भ्वाइस टेस्ट पास गरेर गाएँ
यो क्रम एसएलसीसम्म चल्यो ।
म स्कुल जाँदा बाटोमा
प्रायः एउटा रातो ट्याक्सी देख्थेँ,
त्यसको ड्राइभरले सधैँ
कुसुमे रूमालको गीत बजाइराख्थ्यो
त्यो गीत बनाउने/त्यो सिनेमा बनाउने
मान्छे कस्तो होला ?
भेट्न पाए हुन्थ्यो भन्ने चाहना
मनमा त्यो वेलादेखि नै थियो ।
पछि काठमाडौँ आएपछि
वागबजारका प्रधानाङ्ग
जो हलमा गीतको किताब छापेर
एक- एक रूपियाँमा बेच्थे
तिनसँग र काजी रम्तेलसँग भेट भयो ।
तिनसँगको भेटपनि रमाइलोसँग भो
त्यो वेला म टक्सार विभागमा
दिनको बीस रूपियाँ पालेको काम गर्थें ।
ती प्रधानाङ्ग पनि त्यहीँ काम गर्थे ।
यो बीचमा आफैँ नाटक लेख्ने
र निर्देशन गर्न थालेँ
पहिलो नाटक लेखेँ- ‘छैन’
त्यसको पहिलो सो मै पुलिसले
समात्यो र थुन्यो
दोस्रो ‘झुठो रै’ छ गीता’ लेखेँ
त्यो चाहिँ राम्रै चल्यो/कमाइ भो
त्यसपछि जागिर छोडेर
हङकङ बजारमा ‘टिसर्ट’ बेच्न थालेँ
यही क्रममा तिनै प्रधानाङ्ग मार्फत्
मैले तुलसी घिमिरेलाई भेटेँ
भेट्दै गएँ…सम्पर्क बढ्दै गयो
सुरूमा त त्यही ‘अन्याय’ र ‘लाहुरे’का
पोस्टरहरू टालेर हिँडेँ
फिल्मका रिल बोकेर पनि हिँडेँ
सुटिङ्गमा चाहिँ ‘कोसेली’बाट हिँडेँ
सबै काम गर्ने त्यो वेला
स्पट ब्वाईदेखि प्रोडक्सनसम्म
पछि चिनोमा चाहिँ
पहिलोपटक क्ल्याप हान्ने काम पाएँ
तुलसी दाइको विश्वासपात्र भएको थिएँ
रिल लिएर बम्बई जान्थेँ
त्यही क्रममा बम्बईमा
केही रिजनल फिल्महरू
बङ्गाली, मराठी, गुजराती, उडिया आदिमा
एसिस्टेन्टको काम गरेँ
पैसा पनि राम्रै आउँथ्यो ।
२०५० सालमा पहिलोचोटि
निर्देशकका रूपमा अनुबन्धित भएँ
तर दुर्भाग्य त्यो फिल्म
१०/१२ दिन सुटिङ् भएर रोकियो
धेरैले के के भने
गाउँघरले पनि नराम्रो भने
नौटङ्की भनेर हेलाँ गर्न थालेँ
हुँदा हुँदा मामाले दसैँमा
टीका नै नलाई फर्काइदिनु भो
यो सबले एक प्रकारको डिप्रेसनमा गएँ
बिहानदेखि रक्सी खाने
पशुपतिमा लास जलाएको हेर्ने
६/७ महिनापछि सारै दिक्क भएँ
आत्महत्या गर्न भनेर मेटासिड किनेँ
कोठामा आएर भात पकाएँ
त्यसैमा मिसाएर खान ठीक्क परेको वेला
कसैले तलबाट बोलायो डरले बत्ती निभाएँ
ऊ माथि नै आएर ढोका ढकढकायो
खोलेर हेरेँ राजेन्द्र केसी रैछ
सँगै राजन शाही र सञ्जय पनि थिए ।
मलाई जबरजस्ती त्यहाँबाट
पुतलीसडक लिएर गए
तँलाई खोजेको १०/१५ दिन भइसक्यो
हामीले फिल्म बनाउने, तँ त्यसको डाइरेक्टर
मैले पत्याइनँ तर उनीहरूले साइन गराए
र पाँच हजार साइनिङ् एमाउन्ट पनि दिए
त्यसरी सिन पूरै चेन्ज भयो
र मेरो पहिलो फिल्म ‘भरिया’ बन्यो
यसपछि बन्यो ‘ठूल्दाइ’
र त्यो सुपर हिट भयो
त्यसपछि त फिल्मको लाइन लाग्यो
भटाभट तीन दर्जनभन्दा बढी फिल्म निर्देशन गरेँ
डबल सिफ्ट पनि काम गरेँ ।
यसपछि घर गएँ- आमालाई भेट्न
आमाको रिस मरिसकेको थियो
मेरो प्रशंसा गाउँलेबाट सुनेर दङ्ग हुनुहुन्थ्यो
यसरी अभावको जिन्दगी
प्रभावको जिन्दगी बन्न थाल्यो
गोकुलजीलाई चुनावमा सघाएको कारणले
फिल्म बोर्डमा आएँ, केशवलाई सघाउन थालेँ
उनको असामयिक निधनपछि
सबैको सल्लाह र सहयोगमा
अध्यक्ष पदमा बसेर काम गरिरहेको छु ।
अब यसपछि पनि गर्ने त सिनेमा नै हो
एउटा फिल्म र डकुमेन्ट्रीको खाका तयार छ
सिनेमाको स्पटव्वाईदेखि
चलचित्र विकास बोर्डको अध्यक्ष हुँदासम्म खोजेको
आत्मसन्तुष्टि मात्र हो
तर यो आत्मसन्तुष्टि भन्ने कुरा ‘मृगतृष्णा’ रै’छ
पाएर पनि नपाइने
सधैँ प्यास लागिनै रहने
र यही प्यास नै सायद
सिर्जनाको आधार हो
चाहन्छु, यो प्यास
जीवन पर्यन्त लागिरहोस् ।
राजेन्द्र शलभ
[email protected]