समाचार

डा भगवान कोइरालाले पुस्तक ‘हृदय’को विमोचन गरिएको छ ।काठमाडौंमा आयोजित एक कार्यक्रममा कोईराला आफैंले ओपन हार्ट सर्जरी गरेका दुई बालबालिकालाई विशेष अतिथि बनाएर पुस्तक विमोचन गरिएको थियो । कार्यक्रममा डा. कोइरालाले सर्जरी गरेका १३ वर्षीया एलिजा सन्त र १३ वर्षीय सौरभ जंग केसीले उक्त पुस्तकको विमोचन गरेका हुन् ।
कोइरालाको नेतृत्वमा बन्दै गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को निर्माण सहयोगार्थ प्रकाशक फाइनप्रिन्टले उनको पुस्तकको विशेष संस्करण ल्याएको हो । विशेष संस्करणको बिक्रीबाट प्राप्तहुने रुपैयाँ प्रकाशकले आफ्नो लागत र लेखकले रोयल्टी केही नकटाई सिधै हस्पिटललाई हस्तान्तरण गरिनेछ ।
डा. कोइरालाले किताबमा आफ्नो जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक भएको बताए ।विशेष सीमित संस्करण एक पटकका लागि २५ सयप्रति मात्र मुद्रण भएको छ । जसको अङ्कित मूल्य पच्चीस हजार रुपैयाँ रहेको छ । विशेष संस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रम सङ्ख्या अङ्कित र हस्ताक्षर गरी प्रमाणित गर्ने बताएका छन् ।
असोजको १ गतेदेखि भने पुस्तकको नियमित संस्करण पनि बजारमा उपलब्ध हुनेछ । जसको अङ्कित मूल्य काठमाडौंमा ६५० र काठमाडौं बाहिर ५७५ रुपैयाँमा पाठकका निम्ति उपलब्ध हुनेछ । नियमित संस्करणको पनि ५० प्रतिशत रोयल्टी किओचलाई हस्तान्तरण गर्ने डा. कोइरालाले बताएका छन् । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) हाल काठमाडौंको बुढानिलकण्ठमा निर्माणाधीन अवस्थामा छ । साथै, त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा ५० शय्याको बाल अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । यस्ता हस्पिटल सातै प्रदेशमा विस्तार गर्ने कोइरालाको लक्ष्य छ ।
विगत तीन दशकदेखि मुटुको उपचारमा खटिएका डा. कोइरालाले आधारभूत स्वास्थ्य सेवा नपाएकै कारण ज्यान गुमाइरहेका बालबालिकाहरुको उपचारको निमित्त विशिष्टीकृत बाल अस्पताल बनाउने सपना देखेको बताएका छन् ।
कोइरालाको यही लक्ष्यलाई सानै स्तरमा भएपनि सघाउने उद्देश्यले उनको पुस्तक ‘हृदय’को विशेष संस्करण ल्याएको फाइनप्रिन्टका निरज भारीले जनाएका छन् । पुस्तकको विशेष संस्करण फाइन प्रिन्टकै वेभसाइटबाट तथा ९८०८२२४४६४ मा सिधै फोन गरेर अर्डर गर्न सकिन्छ ।