• २०८२ असार ३१ मङ्गलबार

माग्ने मान्छे

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

हरेक बटुवालाई दाता मान्दै
भिखको याचना गर्छ
माग्ने मान्छे।

दातालाई निकै लोभी देख्छ
गोजीमा रहेको
सानो इकाइको नोट दिन्छ
सकभर चानचुन खोज्छ
मन मारेर दिन्छ
कति छन कति माग्नेरु
भन्दै गरेको मान्छ
सबैको मनमा घृणा देख्छ
माग्ने मान्छे।

माग्ने अनुनय विनय गर्छ
मन पगाल्ने किसिमले बिरह पोख्छ
दातालाई दिन पाए हुन्थ्यो भन्नेमा
भावुक बनाउँछ
आफूमा भएको सबै क्षमता
प्रस्तुत गर्छ
पानीमा तैरिन्छ
सडकमा दौडन्छ
हावामा उड्छ
यति हलुङ्गो त चिण्णो पनि हुदैन ।

माग्नेको मान्यता पनि हुन्छ
मागे पछि राज्य पाइन्छ भन्ने
रत्तिभर हिचकिचाहट हुदैन मनमा
माग्छन्
माग्छन्
फेरि माग्छन्
सपनाको गगनचुम्बी महल
बनाऊँछ
बैशाख बाह्रगते धरहरा ढले जस्तै
ढल्छ सपनाको घर
फेरि सडकमा पुग्छ र माग्छ ।

माग्नका लागि हात थाप्छ
हात पसारेर लमतन्न हुन्छ
निरीहता देखाउदा देखाउँदै
निर्वस्त्र हुन्छ
माग्ने वृत्ति भैसक्यो
माग्ने प्रवृत्तिको विकास भयो
आफू मात्र होइन
सबैलाई मगन्ते सम्झने भयो
माग्ने मान्छे ।

माग्दा माग्दै आफैँ लाई
रित्याउँछ मान्छे
यो जुनीमा मागे पनि
आर्को जुनीमा यस्तो नहोस भन्छ
माग्नेको छोरो
माग्ने कि श्रीमती
माग्नेको लोग्ने
माग्नेको घर
माग्ने मान्छे
हेलाको पात्र हुन्छ ।


कैलासकुमार पाण्डेय, परशुराम डडेल्धुरा