• २०८१ माघ ९ बुधबार

लालबन्दी नगर वाङ्मय परिषदद्वारा लालबन्दी साहित्य महोत्सव–२०८१ सम्पन्न

सर्लाहि ।

लालबन्दी नगर वाङ्मय परिषदद्वारा आयोजित लालबन्दी साहित्य महोत्सव–२०८१ मङ्सिर १४ र १५ को कार्यक्रम सम्पन्न भएको छ । कम्युनिटी वेलफेयर इङ्लिस स्कुलको प्राङ्गणमा सम्पन्न कार्यक्रममा लालबन्दी नगर वाङ्मय परिषद्का प्रमुख संरक्षक तथा लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीको अध्यक्षतामा पुरस्कार अर्पण, रचनावाचन तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको थियो । तीन खण्ड सञ्चालन गरिएको कार्यक्रममा पहिलो खण्डमा पुरस्कार प्रदान रहेको थियो ।

उक्त कार्यक्रममा तीनजना स्रस्टाहरू सम्मानित हुनुभएको छ । सम्मानित हुनुहुने स्रष्टाहरूमा साहित्यकार तथा रचना पत्रिकाका प्रदान सम्पादक रोचक घिमिरे, ‘बोरा’ आख्यानका लेखक तथा अन्नपूर्ण दैनिकका सम्पादक अखण्ड भण्डारी र लालबन्दी, सर्लाहीका पत्रकार शङ्कर श्रेष्ठ हुनुहुन्छ । घिमिरे ‘साहित्यिक शहीद कृष्णलाल अधिकारी स्मृति पुरस्कार वर्ष –२०८१’ बाट पुरस्कृत हुनुभयो भने भण्डारी ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार (राष्ट्रिय)’ र श्रेष्ठ ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार (स्थानीय)–२०८१ बाट पुरस्कृत र सम्मानित हुनुभएको हो ।
कार्यक्रमको दोस्रो खण्डमा रचनावाचन खण्डलाई जोडिएको थियो। कवि रोचक घिमिरे, भूपिन खड्का, निमेष निखिल, प्रतीक घिमिरे, रमेश भट्टराई ‘सहृदयी’, यश लामा, पूर्णकला घिमिरे, कुमार दाहाल कुसुम, निरञ्जना चन्द ‘निरु’, गजलकार सुरेश सुवेदी, सुमित्रा आचार्य, भाष्कर काजीलगायतका स्रष्टाहरूले कविता तथा गजल वाचन गर्नुभएको थियो ।

कार्यक्रमको तेस्रो खण्डमा लालबन्दी नगर वाङ्मय परिषद्का सचिव तथा कवि सुमन घिमिरे ‘अग्रिम’द्वारा लिखित दुई कृति ‘प्यालासँग नयाँ कविता’ कविता सङ्ग्रह र ‘समाजसेवामा बासुदेव अधिकारी’ जीवनी कृति लोकार्पण गरिएको थियो । गजलकार विवश पौडेलकृत ‘जूनको धर्ती’ गजल सङ्ग्रह र कथाकार देवराज पौडेलकृत ‘मानवता हराएका सहरहरू’ कथा सङ्ग्रह लोकार्पित भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति भूपाल राई हुनुहुन्थ्यो । विशिष्ट अतिथिहरूमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य चेतनाथ धमला र बर्दघाट साहित्य प्रतिष्ठान ब.सु.प. का कुलपति डा.घनश्याम न्यौपाने ‘परिश्रमी’ हुनुहुन्थ्यो। लालबन्दी साहित्य महोत्सव–२०८१ कार्यक्रमका संयोजक लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारी हुनुहुन्थ्यो । कार्यक्रमको सहजीकरण क्रमशः परिषद्का कोषाध्यक्ष विवश पौडेल र सदस्य सुमित्रा आचार्यले गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई कार्यक्रम प्रबन्धक सुदिप कार्की र परिषद्की उपाध्यक्ष राजेश्वरी काफ्लेले स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो । लालबन्दी साहित्य महोत्सव–२०८१ ले नेपालको कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका साथै नेपाल प्रज्ञा–प्रतिष्ठानलाई एकै थलोमा राखेर कार्यक्रम गर्न सफल भएको परिषद्का सचिव सुमन घिमिरे ‘अग्रिम’ले बताउनुभयो ।