• २०८२ आश्विन २८, मंगलवार

एकैसाथ दुई कृति सार्वजनिक

विराटनगर ।

विराटनगरमा एउटै कार्यक्रममा दुई कृति लोकार्पण भएको छ । नोबेल पुरस्कार विजेता विश्वप्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरका ‘गीताञ्जली’ र ‘कठोपनिषद्’ का नेपाली अनुवाद कृति विराटनगरमा लोकार्पण भएका छन्। खोटाङ सेवा मञ्चले प्रा. डा. मेदिनीप्रसाद शर्माले अनुवाद गरेका यी कृतिका लोकार्पण गरिएका हुन् ।

वरिष्ठ साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा प्राज्ञ गङ्गा सुवेदी अग्रज साहित्यकार कविराज न्यौपाने प्रा. कृष्णप्रसाद पोखरेल प्रा. डा. मीनराज ढकाल प्रा. डा. हरिहर भण्डारी प्राज्ञ खेम नेपाली लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा भवानीप्रसाद पोखरेल, केशु विरही, दिनेशराज सुवेदी, पुष्पा सायरा, शारदा भट्टराई, लक्ष्मी रायमाझी, चूडामणि घिमिरे, नवराज पोखरेल ‘नवशिला’, प्रिन्स प्रमोद ढकाल, प्रयाग न्यौपाने लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

लोकार्पित कृतिहरूमाथि समीक्षात्मक टिप्पणी गर्दै विद्वान व्यक्तित्व विपुलेन्द्र चक्रवर्ती र प्रा. डा. चक्रपाणि खनालले विश्वसाहित्यसँग नेपाली साहित्यले पनि नतिजा उन्मुख रूपमा घुलमिल हुन यस किसिमका अनुवाद साहित्यले सहयोग पुर्‍याउँछ भन्दै विश्वप्रसिद्ध कृतिहरूको नेपाली अनुवाद तथा रूपान्तरण हुनु निकै गहन कार्य भएको बताए । नेपाली पाठकहरूका लागि यी दुवै कृति सरल रूपमा प्राप्त हुन आउनु महत्त्वपूर्ण पक्ष भएको हुँदा शुभकामना मन्तव्य राख्ने महानुभावहरूले अनुवादक प्रा. डा. मेदिनीप्रसाद शर्माप्रति धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका थिए ।

खोटाङ सामाजिक सेवा मञ्चको भाषा साहित्य कला उन्नयन उपसमितिका संयोजक बाबुराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन लक्ष्मी पोखरेलको र स्वागत मन्तव्य साहित्यकार नानुमैया दाहालको रहेको थियो ।