• २०८२ आश्विन २९, बुधबार

तारा सुबेदीका चार मुक्तक

रोक्दा रोक्दै भाग्ने, निष्ठुरी बैगुनी समयसँग के गुनासो गर्नु
भ्रम नै भ्रम छरेर झुक्याउने , अभिनयसँग के गुनासो गर्नु
सुखदुःखको बाँसुरी त जीवनभरि बज्छ, बजिरहन्छ
एकाएक आउने छलकपट र पराजयसँग, के गुनासो गर्नु ।

जिन्दगी हो यहाँ अनेकौं, अवतारसँग लड्नु पर्छ
समस्याका अनेक दाउपेच र प्रहारसँग लड्नु पर्छ
थकित ओठमा मुस्कान साँच्न त्यति सजिलो कहाँ छ र
अलिकति खुसी पाउन पनि, संसारसँग लड्नु पर्छ ।

म निराशा होइन खुसीको, संसार बाँचेकी छु
जीवनको दरिलो र दिगो, आधार बाँचेकी छु
मेरो मीठो मुस्कान देखेर, ईर्ष्या गर्न निषेध छ
म झरीपछिको आकाशझैं, निखार बाँचेकी छु

खुसीमा हाँस्ने ओठहरू, बाध्यताले सिएकी छु
आँखाबाट झरेका आँसु, यही ओठले पिएकी छु
सिमलको भुवाजस्तो कोमल मन भए पनि के गर्नु ?
स्वार्थी यो संसारमा, कठोर चट्टान भएर जिएकी छु ।


तारा सुबेदी