समाचार

काठमाडौं, रंगकर्मी एवम् पत्रकार इन्द्र चौधरीको ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ पुस्तक सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायमा रहेका प्रचलित लोककथा र त्यसका मिथकलाई समेटिएको छ।
किताबमा रानाथारू समुदायमा प्रचलित ‘करमुओ और सपनो,’‘सदासुर्का और सदाबिर्छ,’‘सोरठ’ लगायत १२ कथा संग्रहित छन् । पुस्तकमा रानाथारू समुदायमा प्रचलित विभिन्न थर–उपथर, चालचलनबारे मिथक तथा किम्बदन्ती समावेश गरिएको छ ।
‘लोकसमुदायद्वारा रचना गरिएका मौखिक र परम्परामा जीवित परम्परित कथाहरू नै लोककथा हुन् । यसमा लोकआस्था, लोकविश्वास, लोकसंस्कृति र सामाजिक प्रत्यक्ष प्रभाव रहेको हुन्छ,’ लेखक चौधरी भन्नुहुन्छ, ‘लोकसमुदायको मनोरञ्जन र शिक्षाको मूल माध्यम पनि लोककथा नै हो । एक पुस्ताको ज्ञान, अनुभव र कल्पना शक्तिलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने काम पनि यसैमार्फत् हुने गर्छ । त्यसैले मानव सभ्यता वा लोकसमुदायको अस्तित्व जोगाउन लिपिबद्ध गरेर संरक्षण गर्नु आवश्यक छ ।’
चौधरी डँगौरा थारू परिवारमा जन्मिए पनि उहाँको क्षेत्रमा रानाथारू बाहुल्य रहेको आफू त्यसकै प्रभावमा हुर्के बढेको बताउनुहुन्छ । ‘सानैदेखि रानाथारू समुदायको संस्कृति, परम्परा र रीतिरिवाज सूक्ष्म ढंगले बुझ्ने मौका पाएँ । आधुनिकताको प्रभावले ती लोकपरम्परा विस्तारै लोप हुँदै गएको देख्दा यसको संरक्षण गर्नुपर्छ भन्ने लाग्यो । त्यही हुटहुटीलाई संगाल्दै जाँदा आज पुस्तकारको रूपमा आएको छ,’ उहाँले भन्नुभयो ।